लक्ष्यअनुसार राजस्व उठाउन सकेन

काठमाडौँ । सिरहाको भगवानपुर गाउँपालिका–४ मा अवस्थित ठाडी भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व उठाउन सकेको छैन ।

सो कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा १३ करोड २ लाख ८१ हजार पाएको लक्ष्य ३ करोड ८३ लाख ९२ हजार ९३ उठाउन सकेको हो । त्यो लक्ष्यभन्दा १० करोड कम हो ।

ठाडी भन्सार कार्यालय प्रमुख धुव्रप्रसाद कोइरीले भन्सारबाट बढी मात्रामा टायल्स, मार्बल र भारतीय गाडी भित्रने र राजस्व उठ्ने गरेको तथा निर्यात शून्य अवस्थामा रहेको बताए । चालु आव २०७९/०८० मा ११ करोड ४३ लाख ६७ हजार राजस्व उठाउने कार्यालयको लक्ष्य रहेकामा असोजसम्म १ करोड १५ लाख २४ हजार ६ सय ४१ राजस्व उठाउन सकिएको छ ।

उक्त कार्यालयले पाएको लक्ष्य पूरा गर्न चुनौती रहेको जनाउँदै अवैधरुपमा भन्सार छली गरी ल्याएको समान जफत गरिएको र चोरी पैठारीसम्बन्धी १ सय ६८ मुदा दर्ता भएको कार्यालय प्रमुख काइरीको भनाइ छ ।