कर्मचारीको मिलेमतोमा लाखौं रुपैयाँ हिनामिना , १० जना पक्राउ

काठमाडौ । मोरङको बूढीगंगा गाउँपालिका २ मा रहेको विराट शिक्षण अस्पतालमा लाखौं रुपैयाँ कर्मचारीको मिलेमतोमा हिनामिना भएको पाइएको छ।

प्रहरीका अनुसार सुरुमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान थाल्दा अनियमिततामा अरु कर्मचारीको पनि संलग्नता रहेको पाइएको हो। रकम हिनामिना गरेको आरोपमा अस्पतालको बिलिङ, डिस्चार्ज र रिसेप्सन शाखामा कार्यरत १० जना कर्मचारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा बिलिङ एन्ड डिस्चार्ज शाखाका प्रमुख बूढीगंगा २ का २६ वर्षीय दुर्गाबहादुर विष्ट र क्यासियर सुनसरीको इटहरी उपमहानगरपालिका ४ का २४ वर्षीय अश्विन भट्टराई रहेका छन् ।

पक्राउ पर्ने अन्य कर्मचारीमा मोरङको बूढीगंगाका २८ वर्षीय सुनील पासवान, दीपेन्द्र तब्दार, २७ वर्षीय प्रभुनारायण चौधरी, २६ वर्षीय सुशील पासवान, २३ वर्षीया स्वस्तिका श्रेष्ठ, २१ वर्षीय करन विश्वकर्मा, ग्रामथानका २३ वर्षीय नरनारायण चौधरी र सप्तरी कन्चनपुरका २३ वर्षीय वसन्तकुमार राम रहेका छन्।

मोरङ प्रहरीका डीएसपी टीकाबहादुर कार्कीका अनुसार विष्ट र भट्टराईलाई गत कात्तिक ३ गते पक्राउ गरिएको हो। अन्य कर्मचारीलाई शुक्रबार पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकाविरुद्ध ठगी मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको डीएसपी कार्कीले बताए।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट ५७ लाख ९५ हजार १ सय ६० रुपैयाँ हिनामिना भएको खुलेको छ। पक्राउ परेकाहरुले अर्काको युजर आईडी र पासवर्ड प्रयोग गर्दै बिरामीका आफन्तले अस्पतालका नाममा जम्मा गरेको धरौटीवापतको रकम अनाधिकृत रूपमा फिर्ता दिएर, नक्कली बिरामी खडा गरेर र अस्पतालको आधिकारिक व्यक्तिबाट स्वीकृति नलिइकन बिरामीको खाताबाट अस्वभाविक रूपमा छुट देखाएर आर्थिक अपचलन गरेको पाइएको कार्कीको भनाइ छ।

कर्मचारीले रकम घोटाला गरेको थाहा पाएपछि गत कात्तिक ३ गते बसेको अस्पताल सञ्चालक समितिको बैठकले लेखा परीक्षक मनोज अधिकारीलाई छानबिन गरेर प्रतिवेदन पेश गर्ने विज्ञका रूपमा नियुक्त गरेको थियो। मिलेमतोमा रकम घोटाला भएको प्रतिवेदन तयार पारेर अधिकारीले कात्तिक १४ गते अस्पताललाई बुझाएका थिए ।

अस्पतालको आन्तरिक छानबिन र प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ५७ लाख ९५ हजार १ सय ६० रुपैयाँ घोटाला गरेको खुलेको हो। सुरुमा भने अस्पतालले ५ करोड रुपैयाँ हिनामिना भएको दाबी गरेर प्रहरीमा जाहेरी दिएको थियो।

अस्पतालका प्रशासन प्रमुख सन्तोष निरौलाले कर्मचारीको मिलेमतोमा रकम हिनामिना भएको पाइएपछि उजुरी गरिएको र प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको बताए । नक्कली कारोबार गर्दै वास्तविक बिरामीको खाताबाट धरौटीवापतको रकम फिर्ता लगेर र नक्कली बिरामी खडा गरेर ३४ लाख ४२ हजार ७ सय ७२ तथा आधिकारिक व्यक्तिसँग स्वीकृति नलिइकन बिरामीको खाताबाट अस्वभाविक रूपमा २३ लाख ५२ हजार ३ सय ८८ रुपैयाँ छुट देखाएर रकम घोटाला गरिएको अस्पतालको आरोप छ ।