संविधान रक्षाका लागि हो गठबन्धन : प्रधानमन्त्री देउवा

काठमाडौ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन वर्तमान संविधानको रक्षाका लागि निर्माण भएको र हाल सफलताका साथ अघि बढिरहेको बताए ।

आज डडेल्धुराको आलिताल गाउँपालिकामा आयोजित चुनावीसभामा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तत्कालीन प्रधानमन्त्री केपी ओलीले आफ्नो लहडमा पटकपटक संसद् विघटन गरेकाले संविधानको रक्षाका लागि गठबन्धनका सबै नेता मिलेर आफूलाई प्रधानमन्त्री बनाएको प्रसङ्ग उल्लेख गरे ।  

“अहिलेको सरकार गठबन्धनको सरकार हो”, उनले भने, “गठबन्धन विजयी भएमात्रै लोकतान्त्रिक गणतन्त्र र समावेशी राजनीतिलाई बचाउन सकिन्छ ।” वर्तमान अवस्थामा बिग्रेको राजनीति बचाउन प्रतिनिधिसभा र प्रदेशसभामा गठबन्धन विजयी हुन आवश्यक रहेको उनको भनाइ छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई पटक संसद् विघठन गरेपछि गठबन्धन बनेको प्रधानमन्त्री देउवाको भनाइ थियो । “संसद् विघठन गर्दा हामी सबैलाई डर लाग्यो, प्रजातन्त्र कमजोर पार्ने काम गर्न थाले”, देउवाले भने, “संविधानमा प्रधानमन्त्रीको लहडबाजीको संसद् भङ्ग हुनसक्ने व्यवस्था छैन, त्यसैले हामीले सबै पार्टी एक भएर त्यसको विरोधमा गयौँ ।”

“पारिगाउँ महाकाली नदीमा पुल बनाउने विषयमा पनि भारतीय प्रधानमन्त्रीसित कुराकानी भएको छ”, उनले भने, “त्यहाँ सम्भाव्यता अध्ययन गर्छौैं, मिले पक्की पुल नभए झोलुङ्गे पुल भएपनि बनाउनेछु ।”

उनले माओवादी नेता भट्ट यहाँबाट निर्वाचन जिते यही गठबन्धन कायम रहे सुदूरपश्चिमको मुख्यमन्त्री बन्नसक्ने धारणा राखे । त्यसैगरी कार्यक्रममा प्रधानमन्त्री पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा आरजु राणा देउवाले मुलुुकका हरेक काममा महिलाको प्रतिनिधित्व बढिरहेको बताए । 

“संविधान रक्षाका लागि हामी अहिले चुनावी मैदानमा छौँ”, उनले भने, “संविधान बने पनि धेरै काम गर्न बाँकी छ, यो गठबन्धनले जित्न आवश्यक छ ।”