निर्वाचन सुरक्षीत बनाउन भर्चुअल माध्यमबाटै निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रदेश प्रहरी प्रमुख, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशकहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा निर्वाचन लक्षित निर्देशन सम्बोधन गरेका छन् ।

निर्देशनको क्रममा प्रहरी महानिरीक्षक सिंहले हालसम्म निर्वाचन सुरक्षा सम्बन्धी भएको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउने गरी भएका प्रयास सकारात्मक भएको उल्लेख गरेका छन् । उनले निर्वाचन सम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमाण्डर तहसम्म पुर्‍याई निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन समेत दिएका छन् ।

महानिरीक्षक सिंहले निर्वाचन राष्ट्रिय राजनीतिको दृष्टिले महापर्व भएको उल्लेख गर्दै आगामी निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न तयार रहन आग्रह गरेका छन् । तीन करोड नेपालीको विश्वास र सहभागिता रहेको निर्वाचनमा केही उच्छृंखल तत्वले विथोल्न खोज्छन् भने त्यसलाई उचित र प्रभावकारी कारवाही गरी निस्तेज पार्न समेत प्रहरी महानिरीक्षक सिंहले निर्देशन दिए ।

६ महिना अघि स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीले प्रदर्शन गरेको व्यावसायिकतालाई अक्षुण्ण राखी त्यसबाट प्राप्त आत्मविश्वास एवं नागरिकबाट प्राप्त जनविश्वासको जगमा अझ व्यावसायिक भएर निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न प्रहरी महानिरीक्षक सिंहले निर्वाचनमा खटिने प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए ।

अपराध अनुसन्धान विभागका प्रमुख एवं केन्द्रीय निर्वाचन सेलका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले म्यादी प्रहरीको सहयोग लिई निर्वाचनलाई शान्तिपूर्ण बनाउन कुनै कसर बाँकी नराख्न आग्रह गदै स्रोत(साधनको समुचित प्रयोग गरी निष्पक्ष तवरले निर्वाचन सम्पन्न गर्न समेत निर्देशन दिएका छन् ।