उद्योगी व्यवसायीलाई माहौल बनाउन निर्वाचनको आग्रह

काठमाडौँ । निजी क्षेत्रका उद्योगी व्यवसायीलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको माहौल बनाउन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आग्रह गरेको छ ।

निजी क्षेत्रका नेतृत्वदायी सङ्गठन तथा व्यक्ति सहभागी ‘निजी क्षेत्रसँग अन्तक्र्रिया’ विषयक आज आयोगमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले ‘व्यवसायिक सामाजिक उत्तरदायित्व (सिएसआ) अन्तर्गत आफ्नो सूचना सम्प्रेषण संयन्त्रमार्फत आयोगका सूचना तथा सन्देश प्रवाह गरिदिन आग्रह गरे । उनले आयोगको सामाजिक सञ्जालमा आवद्ध भई आयोगमार्फत उत्पादित मतदाता शिक्षा, आचारसंहिता पालना तथा निर्वाचनसँग सम्बन्धित सूचना तथा सन्देश आफ्नो साङ्गठानिक संयन्त्र तथा सामाजिक सञ्जालमार्फत प्रवाह गरेर सहयोग गरिदिन पनि आग्रह गरे । व्यवसायीको सहयोग मूलुक र लोकतन्त्रका लागि महत्वपूर्ण हुने विश्लेषण गदै उनले आ–आफ्नो संस्थामा कार्यरत कर्मचारीलाई मतदान गर्न पाउनेगरी सहजीकरण गरिदिनसमेत आग्रह गरे ।

उनले हाल देशको अर्थतन्त्र निक्कै अप्ठ्यारो स्थितिमा रहेका तथ्यहरू विश्लेषण गर्दै निर्वाचनपछि यो माहौलमा परिवर्तन आउने विश्वास समेत व्यक्त गरे । “अहिले तरलताको अभाव, ब्याजदर वृद्धि, बचत घटिरहेका जस्ता अवस्था सुनिन्छ । यसले कतै व्यवसायीहरू पलायन नै पो हुने हो कि ? भन्ने माहौल छ”, थपलियाले भने, “निर्वाचनसँग पनि यसको कुनै न कुनै साइने सम्बन्ध छ । यो अप्ठ्यारो स्थितिलाई निर्वाचनपछि सहजतातिर लैजान पनि यसले सहयोग मिलोस् भन्ने हो ।”

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष चन्द्र ढकालले निर्वाचन सफल बनाउने सन्दर्भमा आयोगले निजी व्यवसायीलाई पनि सम्झिएकामा खुसी प्रकट गर्दै आफ्नो संयन्त्रमार्फत आयोगको आग्रह कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महासङ्घका उपाध्यक्ष अञ्जन श्रेष्ठले मतदानका दिन व्यावसायीका सवारी साधन प्रयोग गर्न दिन र आफूहरुलाई पर्यवेक्षकका रुपमा जिम्मेवारी दिनु आग्रह गदै नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाटा०का अध्यक्ष रमेश थापाले निर्वाचन आयोगको आग्रह कार्यान्वयनमा आफुहरुको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचनको दिन यातायातको सहज सञ्चालनमा सहयोग गरिदिन आग्रह गरेका छन् ।

कार्यक्रममा सहभागी अन्य विभिन्न व्यवसायीले आयोगको आग्रह बमोजिम आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै निर्वाचन सम्पन्न गर्ने क्रममा स्थानीय तहसम्म निजी क्षेत्रको संयन्त्रलाई सहभागी गराउन आग्रह समेत गरेका छन् ।