मुलुकलाई अग्रमनतर्फ लैजान गठबन्धन : रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले गठबन्धन मुलुकलाई अग्रमनतर्फ लैजाने बताएका छन् ।

व्यास नगरपालिका–३ देउरालीनगरमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले लोकतन्त्रलाई सही दिशामा अघि बढाउन, शहीद तथा सपूतको बलिदानी, त्याग, तपस्यालाई साकार पार्न गठबन्धन गर्नुपरेको बताए । ।

“जात, लिङ्ग र भूगोलका आधारमा गरिने सबै प्रकारका विभेदबाट उन्मुक्ति दिने हाम्रो संविधान दक्षिण एसियाकै उत्कृष्ट छ । संविधानको संरक्षणका लागि गठबन्धन अपरिहार्य छ”, नेता पौडेलले भने। युवालाई स्वदेशमै आम्दानी र रोजगारी सिर्जना गर्नका लागि आफू उम्मेदवार बनेको वरिष्ठ नेता पौडेलको भनाइ थियो । 


व्यास नगरपालकालाई देशकै नमूना सहर बनाउने उनले  दाबी समेत गरे । व्यास नगपालिकाका–३ को देउरालीनगर र ऋषिङ गाउँपालिका–१ को झापुटार जोड्ने मोटरेबल पुल निर्माण भइरहेको र त्यसलाई छिटो सम्पन्न गरी सहज यात्राको वातावरण बनाउन लागिपरेको बताए ।