पाँच पटकभन्दा बढी मापसेमा परेका सवारी अनुमतिपत्र खारेज

काठमाडौँ, १८ पुस । के तपाईले मादक पदार्थ सेवन गरी सवारी चलाईरहनु भएको छ ? यदि हो भने होस गर्नु्स् तपाई प्राप्त गर्नु भएको सवारी अनुमति पत्र खारेज हुन सक्छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने सवारी ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ ।
“खारेज गरिएका सवारी चालकले पुनः परीक्षा दिएर लाइसेन्स लिनुपर्ने व्यवस्था गरिएको छ,” महाशाखा प्रमुख पन्तले बताए , “दुर्घटना घटाउन र मापसे सेवन गरी सवारीसाधन चलाउने चालकको अभिलेख राख्नका लागि उक्त व्यवस्था गरेका हौँ ।” उनले भने ।
आर्थिक वर्ष २०७०÷७१ मा ५२, आव २०७१/७२ मा १२२, २०७२/७३ मा १३३, २०७३/७४ मा ४१, २०७४/७५ मा ५८ र चालू आवमा १७ चालकको लाइसेन्स खारेज गरिएको हो ।
महाशाखाले पटक÷पटक मापसे सेवन गरेर सवारीसाधन चलाएपछि लाइसेन्समा प्वाल पार्दै आएको थियो । विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँच अभियान थालिएको हो । महाशाखाले २०६९ मङ्सिर २२ गतेदेखि मापसे गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्न थालेको हो । हालसम्म विभिन्न चरणमा गरी एक लाख ७८ हजार १९८ चालकको लाइसेन्समा प्वाल पारिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले बताएका छन् ।