२७ करोडको हिसाब नै छैन नमस्ते सहकारीसँग

काठमाडौँ । गुलरिया नगरपालिका—६ नमस्ते बचत तथा सहकारी संस्था लिमिटेडबाट सेवाग्राहीको रकम हिनामिना भएको भन्दै लुम्बिनी सहकारी बोर्डले कारबाही प्रक्रिया अघि बढाएको छ । उक्त संस्थाका अध्यक्ष नगेन्द्र रिजाल र प्रबन्धक संजिव कुमार महतो करिब दूई सातादेखि सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीन भएलगत्तै लुम्बिनी प्रदेशको अर्थ तथा सहकारी मन्त्रालयले आवश्यक कागजात नियन्त्रणमा लिई छानबिन सुरु गरेको छ । जस अनुसार सेवाग्राहीका २७ करोड रुपैयाँ जम्मा भएको देखिएको छ । तीमध्ये कति रकम लगानी भएको छ यकिन तथ्यांक नै छैन ।

प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाका अनुसार केही फर्जी धितो बिनाको रकम झिकेको प्रारम्भिक अध्ययनमा नभेटिएको बताए । ३ करोड रकम विभिन्न शिर्षकमा कर्मचारीले झिकेको उनको भनाइ छ ।

बचत सहकारीमा रकम जम्मा गर्नेमा तरकारी, फलफूल, अण्डा बेच्ने व्यवसायीदेखि ठूला व्यापारी रहेका छन् । आकर्षक व्याजका लोभले केहीले सरकारी बैंकबाट ऋण लिएर उक्त सहकारीमा जम्मा गराएको स्रोतले बताएको छ । जहाँ २० हजारदेखि १ करोडभन्दा बढी रकम राख्ने बचतकर्ता पनि रहेका छन् ।

स्थानीय राजेश रेग्मीले बचतकर्ताको रकम अविलम्ब फिर्ता हुनुपर्ने भन्दै बचतकर्ताको पक्षमा आवाज उठाएका छन् । निकै दुःख गरी कमाएको धन फिर्ता नदिई सञ्चालक र प्रबन्धक फरार भएकोले राज्यले आवश्यक कारबाही गर्नुपर्छ,ु उनको माग रहेको छ ।

उक्त संस्थाका सञ्चालक र प्रबन्धक सम्पर्कविहीन भएपछि यहाँका अन्य बचत सहकारीमा पनि आफ्ना रकम लिई खाता बन्द गरेको स्थानीयले बताए ।

यस घटनाबारे छानबिन समितिले काम गरिरहेको लुम्बिनी सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोखरेलले बताए । उनले उक्त संस्थाका अध्यक्ष रिमाल र प्रबन्धक महतो फरार हुनु नै दोषी भएको प्रष्ट भएकाले कारबाहीको दायरामा ल्याउने बताए ।

जिल्ला सहकारी संघका अध्यक्ष नवराज ढुंगानाले भने यसअघि सेवाग्राहीको रकम जसरी भए पनि फिर्ता गर्नुपर्ने बताएका थिए। यसैबीच लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्षसहितको टोली बुधबार बर्दिया आएर सहकारीका अन्य पदाधिकारी, बचतकर्ता, शेयरधनी लगायतसँग छलफल गरिरहेको छ ।

रिजाल र महतो भारतमा भएको आशंका प्रहरी प्रशासनको छ । प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले उनीहरूको फोन स्विच अफ भएकोले प्रहरीले खोजी कार्य गरिरहेको जानकारी दिए ।