उपत्यकामा मेलम्चीको पानी नआउदा खानेपानीको अभाव

काठमाडौँ । वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी काठमाडौँ उपत्यकामा नआउदा खानेपानीको अभाव बढ्न थालेको छ । सिन्धुपाल्चोको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवक्र्स निर्माण नसकिएकाले वर्षामा सुरुङमा पानी बन्द गरिएको हो ।

विसं २०७८ असार १ गतेको बाढीले आयोजनास्थलमा क्षति भएपछि वर्षामा सुरुङ बन्द गर्न थालिएको हो । बाढी आउने अघिल्लो दिन सुरुङ बन्द गरिएकाले सुरुङभित्र क्षति हुन पाएको थिएन । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाले कात्तिक महिनाभित्रै मेलम्चीको पानी राजधानी ल्याउने भनेकामा यो महिनामा पानी नआउने निश्चित भएको छ ।

गतवर्ष मेलम्चीको बाढीले भत्काएको सडक हेलम्बु गाउँपालिकाले नै बनाएर पानी ल्याउने वातावरण बनाएको थियो । सडक बनाएर पानी ल्याउन सहयोग गरेपछि सङ्घीय सरकारले २०७८ साल असार १ गतेको बाढीबाट क्षति भएको मुहानस्थलका संरचना बनाउन वास्ता नगरेकाको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जे शेर्पाले बताए ।

“गाउँपालिकाले सडक नबनाएपछि मेलम्ची आयोजना आफैँले अझै बनाउन सकेको छैन, स्थानीय सरकारले पानी लान रोकेको होइन, तर हामीले नदिएको भनी दुष्प्रचार गरिएको छ । मेलम्चीको पानी राजधानी लगेर महसुल उठाएपछि त्यसको २५ प्रतिशत लेबी स्थानीय सरकारले पाउनुपर्छ भनी माग राखेका हौँ, यहाँको पानी लगेर सरकारले राजधानीमा निःशुल्क बाँडेको होइन, महसुल लिन्छ, महसुल लिएपछि त्यसको २५ प्रतिशत हामीले पाउनुपर्छ”–उनले भने ।

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा ठूलो बाढी गएर धनजनको क्षति भएको डेढवर्ष बित्दा पनि पुनःनिर्माणमा केन्द्रीय सरकारले वास्ता नगरेको गुनासो स्थानीय सरकारको छ । मेलम्ची बाढीको विषय चालु आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटमा नसमेटिँदा पनि स्थानीय सरकार आक्रोशित भएको हो ।

अध्यक्ष शेर्पाले भने–“हामीले मात्र सहयोग गरिरहने ? मेलम्ची पीडितलाई केही गर्न नपर्ने ? राजधानीलाई पानी खुवाउने हेलम्बुमा वर्षामा आउन सकिन्न, राजधानीको खानेपानी ल्याउने मुहानमा जाने पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्दैन ?” स्थानीय सरकार नहुँदा सामाजिक संस्थामार्फत् सञ्चालन गरिएको सामाजिक उत्थान कार्यक्रमलाई पालिकामार्फत् लैजानुपर्ने माग पनि उनले गरे ।

गतवर्ष पानी पठाउँदा खानेपानी मन्त्रीमार्फत् प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्र नबुझाइएकामा पनि स्थानीयवासी आक्रोशित भएका छन् । स्थानीय सरकारले पानी नरोकी सरोकार सम्बोधन गर्न जोडदार माग गरेको जनाइएको छ । पानी रोक्दा भने यहाँभन्दा जटिल परिस्थिति आउने भएकाले सचेत हुन अध्यक्ष शेर्पाले आग्रह गरे ।

उपत्यकामा मेलम्चीबाट दैनिक १७ करोड ५० लाख लिटर पानी आउँछ । पहिलो चरणमा मेलम्ची खोलाबाट ल्याइएको १७ करोड ५० लाख लिटर पानी सुन्दरीजलमा प्रशोधन गरी काठमाडौँ उपत्यकाका तीन जिल्लाका विभिन्न स्थानमा वितरण गरिन्छ । मेलम्चीको पानी सिन्धुपाल्चोकको हेलम्बुबाट काठमाडौँको सुन्दरीजलसम्म २७.५ किमी सुरुङ मार्ग हुँदै काठमाडौँ ल्याइन्छ ।

विसं २०७८ जेठ अन्तिम साता बन्द गरिएको पानी पाँच महिनापछि कात्तिकमा फेरि राजधानी ल्याइएको थियो । यसवर्ष भने सुरुङमा पानी बन्द गरिएको पाँच महिना पूरा हुँदा पनि फेरि ल्याउन पहल हुन नसक्दा राजधानीवासी काकाकुल हुने अवस्था आएको उपभोक्ता अधिकारकर्मी रोशन पोखरेलको भनाइ छ ।