महानगरमा निःशुल्क शौचालय अभियान चले पनि पर्यटक बस विसौनीमा यात्रु कष्ट व्यहोर्दै

काठमाडौ । काठमाडौं उपत्यका पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण गन्तव्य स्थलका रुपमा चिनिन्छ । उपत्यकामा पनि काठमाडौंको ठमेल क्षेत्र विशेष पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै आइरहेको छ । ठमेल क्षेत्र आउने पर्यटक मात्र होइन नेपाल भ्रमणमा आएका पर्यटकहरु उपत्यकाबाट बाहिर सडक मार्ग हुँदै जानका लागि पर्यटक लक्षित यातायात नै सञ्चालन भईरहेका छन् ।

विगतमा जमलमा सञ्चालन रहेको पर्यटकीय बस बिसौनी केही वर्षयता भने काठमाडौं महानगरपालिका वडा नं.१६ स्थित नयाँ बजार क्षेत्रबाट सञ्चालन हुने गरेको छ ।

बिहानी समयमा यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको निकै चहलपहल हुने गर्छ । तर, सो क्षेत्रमा सार्वजनिक शौचालयको अभाव हुँदा यात्रीहरुले निकै नै कष्ट खेप्नु परेको छ । उपत्यका बाहिर जाने पर्यटकीय सवारी साधन बिहानीको समय प्रस्थान गर्ने भएपनि पसल र होटेलहरु त्यति धेरै खुलेका हुँदैनन् । सार्वजनिक शौचालय नहुनु र होटलहरु प्नि नखुल्ने भएकाले शौचका लागि यात्रुहरुले कष्ट व्यहोर्दै आईरहेका छन् ।

सो क्षेत्रमा टुर एण्ड ट्राभल सञ्चालन गर्दैै आइनु भएका व्यवसायी केदार नाथ शर्माले नयाँ बजार क्षेत्रमा पर्यटकहरुको बस बिसौनी भएकाले सार्वजनिक शौचालयका लागि कुरा उठाएपनि सुनुवाई नभएको बताए ।

सो क्षेत्रमा होटल व्यवसाय गर्दै आईरहेका दिपेश डंगोलले भने पर्यटक बस सञ्चालन हुने नयाँ बजार क्षेत्रमा सार्वजनिक शौचालयको अभाव भएको भएपनि होटेलहरुले आफ्नो शौचालय प्रयोग गर्न दिने गरेको जानकारी दिए । महानगरपालिकाले पछिल्लो समय निजी क्षेत्रसँग सहकार्य गरी निःशुल्क शौचालयको अभियान सुरु गरेको भएपनि यहाँका होटेल, व्यवसायहरुमा त्यो सुविधा उपलब्ध नगराएको पाईएको छ ।