उम्मेदवार भएका ठाउँमा फर्जी मतदानको खतरा छ

काठमाडौँ । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव बिथोल्ने व्यक्तिहरूलाई कारबाही गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । कतिपय ठाउँमा जसरी पनि चुनाव जित्नुपर्छ भन्ने मानसिकता भएका उम्मेदवारहरू हुने भएको भन्दै फर्जी मतदान हुने खतरा रहेकाले त्यसतर्फ बढी चनाखो हुन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले चुनाव बिथोल्ने गतिविधि गर्नेहरूलाई नियन्त्रणमा लिइ निर्वाचन कसुर तथा सजाय ऐनअन्तर्गत कारबाही प्रारम्भ गर्न निर्देशन दिए । आयोगले कानुनको व्यवस्थालाई पूर्णरूपमा अध्ययन गरी शतप्रतिशत कार्यान्वयन गराउन निर्वाचन अधिकृतहरूलाई निर्देशन दिएको हो ।

आयोगले कानुनको प्रभावकारी कार्यान्वयनबाट मात्रै चुनाव स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित हुने भन्दै चुनाव बिथोल्ने कुनै पनि व्यक्तिलाई कारबाही गर्ने कुरामा पछि नहट्न निर्देशन दिएको हो ।

उनले भने, ‘हाम्रा सबै कानुनी व्यवस्था पूर्ण छन् । मात्रै पालना गर्नेले पालना गर्नुपर्छ, कार्यान्वयन गर्नेले कार्यान्वयन गर्नुपर्छ । म सबै मतदान अधिकृत साथीहरूलाई कानुनको व्यवस्थालाई पूर्णरूपमा अध्ययन गर्न, आफ्नो तर्फबाट शतप्रतिशत कार्यान्वयन गराउन र यदि कसैले पालना नगरेको पाइए कारबाही गर्न खुट्टा नकमाउन पनि अनुरोध गर्दछु । कानुनको प्रभावकारी कार्यान्वयनले नै चुनाव स्वच्छ, स्वतन्त्र र निष्पक्ष हुन्छ । कतिपय ठाउँमा मैले जसरी पनि विजय हासिल गर्नुपर्छ, चुनाव जित्नुपर्छ भन्ने मानसिकता बोकेका प्रतिनिधि र उम्मेदवारहरूको कारणले फर्जी मतदान हुने खतरा पनि हुन्छ, त्यसतर्फ मतदान अधिकृतहरूले ध्यान दिनुपर्छ । धेरै मतदान हुनु राम्रो हो तर मतदाता नामावलीमा नाम भएको तर मतदान गर्ने दिन त्यहाँ उपस्थित नभएका व्यक्तिको मतदान गर्नु गम्भीर त्रुटि हो र चुनावप्रतिको अवज्ञा पनि हो ।’

प्रमुख थपलियाले मतदान गरिसकेको व्यक्ति फेरि मतदान गर्ने ठाउँमा आउँदा विभिन्न व्यवधान हुनसक्ने कुरालाई ध्यानमा राखी सुरक्षा निकायसँग समन्वय गरी त्यस्ता गतिविधि हुन नदिन पनि आग्रह गरे । उनले मतदान कार्यमा उम्मेदवारका प्रतिनिधि र उम्मेदवारहरूको पनि उत्तिकै महत्त्वपूर्ण भुमिका हुने भएकाले चुनावलाई निष्पक्ष र स्वतन्त्र बनाउने कुरामा सहयोग हुने अपेक्षा गरेको बताए ।

चुनावमा सबैभन्दा महत्त्वपूर्ण काम मतपत्रमा दस्तखत गर्नु भएकाले निर्वाचन अधिकृतले यो कुरामा लापर्बाही नगर्न पनि अनुरोध गरे । मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि कुनै पनि किसिमको प्रचारप्रसार गर्न निषेध गर्नुपर्ने व्यवस्थालाई पनि विधेष ध्यान दिन उनको आग्रह छ ।