एमाले नेतृ करिश्माले मागिन रेखाको लागी भोट

काठमाडौं । निर्वाचन नजिकिए सँगै राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेता तथा नेपाली फिल्मकी अभिनेत्री तथा निर्माता रेखा थापालाई फिल्मकर्मीहरुले पनि सामाजिक सञ्जालको माध्यमबाट मत माग्दै शुभकामना दिइरहेका छन् । अभिनेत्री तथा नेकपा एमालेकी नेतृ करिश्मा मानन्धरले पनि आफ्नो पार्टीका उम्मेदवार भानुभक्त ढकाल लाई नभइ रेखाका लागि भोट मागेकी छन् ।

मानन्धरले फेसबुकमा लेखेकी छन्, ‘कलाकार राष्ट्रका अभिन्न अंग हुन् । संस्कृति, संस्कारका सम्बाहक हुन् । यो क्षेत्रको निर्माण, विकास गर्न धेरै कलाकारहरुले संघर्ष र परिश्रम लगानी गरेका छन् । यो एउटा करोडौं लगानीको क्षेत्र बनिसकेको छ । अब हाम्रो कदम राज्यको मुख्य तहमा आफ्नो कुरा पुर्‍याउने हो । यो संघर्षमा सामिल योद्धा रेखा थापालाई भोट गर्नका लागि आग्रह गर्दछु ।’

फिल्म क्षेत्रका समस्या राज्यको मुख्य तहसम्म पुर्‍याउनका लागि पनि रेखाले जित्नु पर्ने उनको तर्क छ । करिश्मा पनि एमालेबाट प्रत्यक्ष वा समानुपातिकतर्फ टिकट पाउनेमा आशावादी थिइन् । तर, पार्टीले उनलाई टिकट दिएन । टिकट नपाए पनि उनी आफ्नो क्षेत्रका एमाले उम्मेदवारलाई जिताउन घरदैलोमा हिँडिरहेकी छन् ।