चितवनमा सर्वदलीय बैठक पछि मतगणना गरिने

काठमाडौँ । तीन निर्वाचन क्षेत्र रहेको चितवन जिल्लाका सबै क्षेत्रमा आज बिहानबाट मत गणनाको तयारी गरिएको छ । आइतबार राति अबेरसम्म मतपेटिका ल्याउन र बुझ्न समय लागेपछि आज बिहान सर्वदलीय बैठक राखिएको छ ।

मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाका अनुसार सर्वदलीय बैठकपछि मत गणना गरिर्दै छ । क्षेत्र नम्बर १ र २ ले बिहान ८ वजेका लागि सर्बदलिय बैठक बोलाएका छन् । क्षेत्र नम्बर ३ ले बिहान ९ वजे सर्बदलिय बैठक बोलाएको छ । बैठक पछि लगत्तै गणनाको तयारी गरिएको छ ।

जिल्लाको क्षेत्र नं १ मा ६८.७३ प्रतिशत मत खसेको छ । सो क्षेत्रमा १ लाख ३९ हजार ८ सय ४५ मतदाता रहेका छन् । क्षेत्र नम्बर २ मा ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा १ लाख २४ हजार २ सय १४ मतदाता रहेका छन् । 

क्षेत्र नम्बर ३ मा ६५.४१ प्रतिशत मात्रै मत खसेको यहाँका निर्वाचन अधिकृत हरिसिं धामीले जानकारी दिएका छन् । यस क्षेत्रमा १ लाख ४४ हजार २ सय ८३ मतदाता छन् । 

जिल्लाभर ४ लाख ८ हजार ३ सय ४२ मतदाता रहेका छन् । उनीहरु मध्ये महिला २ लाख ९ हजार ३ सय ९ र पुरुष १ लाख ९९ हजार ३२ जना रहेका छन् । १ सय ६१ मतदान स्थलमा ४ सय ६० मतदान केन्द्र रहेका थिए ।