सार्वजनिक विदा नदिए सरकार विरुद्ध आन्दोलनको चेतावनी

काठमाडौं, पुस । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका दिन सार्वजनिक विदा नदिए सरकारका विरुद्ध आन्दोलन गर्ने चेतावनी गृहमन्त्री रामबहादुर थापालाई दिएका छन् । नेपाल सरकारलाई पुस २७ गते सार्वजनिक विदासहित सरकारीस्तरबाटै भव्यरुपमा आफ्ना राष्ट्रपिताको सम्मान र सम्झनामा विशेष कार्यक्रम आयोजना गरी मनाउने निर्णय गर्न राप्रपा निकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले गृह मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै सो चेतावनी दिएको हो ।
उनीहरुले राष्ट्रिय एकता दिवस एवं पृथ्वी जयन्तीका अवसरमा पुस २७ गते सार्वजनिक विदा माग समेत गरेका छन्। गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाउँदै उक्त विद्यार्थी संगठनले त्यस्तो माग गरेको हो ।
पृथ्वीनारायण शाहको योगदानको सम्मान र कदर गर्दै राष्ट्रिय बिदा दिन ज्ञापनपत्रमा माग गरेको हो । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका अध्यक्ष महेश बहादुर सिंहसहितको टोलीले गृहमन्त्री थापालाई भेटेर उक्त ज्ञापनपत्र बुझाएको हो । गृहमन्त्री थापाले आफूले राष्ट्रिय बिदाको लागि आवश्यक पहल चाल्ने प्रतिबद्धता ब्यक्त गरेको विद्यार्थी नेता जनक फडेराले जानकारी दिए ।
ज्ञापनपत्रमा भनिएको छ
हिमाल, पहाड, तराईसहितको भूगोलले प्राकृतिक रुपमा अति सुन्दर एवं रमणीय तथा विविध भाषा, संस्कृतिले युक्त नेपाल राष्ट्रको एउटा छुट्टै र विशिष्ट पहिचान र अस्तित्व रहिआएको यहाँलाई विदितै छ । श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह तथा उहाँका अनुयायीसमेतका हाम्रा पुर्खाहरुको अत्यन्त दूरदर्शी एवं देशभक्तिपूर्ण पहलकदमी तथा संघर्षका कारण आजसम्म हाम्रो देश विश्वमा एक स्वतन्त्र, अखण्ड एवं स्वाभिमानी वीर नेपालीहरुको देशका रुपमा परिचित छ । यही पहिचान र अस्तित्वलाई अक्षुण्ण राख्नका लागि हामी नेपाली नागरिकहरु पनि हाम्रा वीर पुर्खाहरु जस्तै स्वाभिमानी, देशभक्त भएर बाँच्न सक्नुपर्दछ र हाम्रा पुर्खाहरुले हामीलाई सुम्पिनु भएको सुन्दर देशलाई हामीले हाम्रा सन्ततिहरुका लागि अझ सुन्दर बनाउनु हाम्रो परम कर्तव्य हो ।

यही कर्तव्यलाई हृदयंगम गर्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन भावी सन्ततिका लागि सभ्य, शिष्ट र सु–संस्कृत समाज निर्माण गर्नु नै वीर पुर्खाहरुप्रतिको सच्चा सम्मान हुने अटल मान्यतामा विश्वास गर्दछ । हामी नेपाली भएर जन्मिन पाएकोमा गौरवान्वित हुँँदै हामीलाई स्वतन्त्र र अखण्ड नेपाल राष्ट्रको भूगोलसँगै यसभित्र अनेकौं भाषा, संस्कृतिसहितको हाम्रो विशिष्ट पहिचान समेत सुम्पिनु भएका वीर पुर्खाहरुप्रति नमन गर्दै, भावी सन्ततिलाई समेत आफ्नो राष्ट्र र पुर्खाहरुप्रति गौरवान्वित हुन अभिप्रेरित गर्ने महान पर्व राष्ट्रिय एकता दिवस तथा राष्ट्रपिता पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा वर्षौदेखि सार्वजनिक विदा दिई राष्ट्रिय पर्वका रुपमा मनाइँदै आएकोमा सरकारले राष्ट्रिय गौरवको ऐतिहासिक दिवसको बिदा कटौती गरी आम देशभक्त नागरिकहरुको देशप्रेमप्रति ठूलो आघात पु¥याएको हाम्रो ठहर छ । जसले देश निर्माण गरिदिएर हामीलाई नेपाली भएर जन्मिन पाएकोमा गौरव गर्ने वातावरण सुम्पिनुभएको छ, उहाँलाई नै सम्मान गर्न नसक्ने सरकारको चरित्र र दायित्वमाथि प्रश्नचिन्ह खडा भएको छ ।