एमालेले पत्याएको राजेन्द्र लिङ्देन र एमाले कार्यकर्ताले घोक्र्याएको कमल थापा

काठमाडौं । झापा क्षेत्र क्षेत्र नं. ३ बाट प्रतिनिधिसभाका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई ३ हजार २७६ मतको अन्तरले लिङ्देन दोश्रो पटक एमालेले पत्याएकै कारण सांसद बन्न सफल भएका छन् ।

राप्रपाको अध्यक्ष निर्वाचित भएसँग हिन्दु राष्ट्र र राजतन्त्रको मुद्दालाई यथावत राखेर अगाडि बढेका लिङ्देनलाई नेकपा एमालेका अध्यक्ष ओलीले र एमालेले पत्याएकै कारण गठवन्धन एमाले र राप्रपाका वीच भएको थियो र लिङ्देन मंसिर ४ गते भएको निर्वाचनबाट दोश्रो पटक प्रतिनिधिसभामा पुग्न सफल भएका हुन् ।

निर्वाचित भएको प्रमाण पत्र लिँदै राजेन्द्र लिङ्देन

तर राप्रपाको महाधिवेशनमा लिङ्देनसँग पार्टी अध्यक्ष पदमा हारेपछि पार्टी विभाजन गरेर राप्रपा नेपाल व्यूँताएका कमल थापालाई भने आफ्नै गृह जिल्लाका एमाले कार्यकर्ताहरुले घोक्र्याएको देखियो । मकवानपुरमा एमालेको ध्वजा बाहक सुर्य चिन्हबाट उम्मेदवार बनेका कमल थापालाई एमाले कार्यकर्ताहरुले लोप्पा ख्वार्यदिएपछि उनी सांसद हुनबाट बञ्चित भएका छन् ।

सत्ता र पदका लागि जस्तो सुकै कर्म गर्न पनि पछि नपर्ने कमल थापा कै कारण अघिल्लो निर्वाचनमा राप्रपाले नराम्रो हार व्यहोर्नु परेको थियो । त्यही राप्रपाबाट कमल थापा विभाजित भएपछि भने राप्रपालाई जनताले पत्याउन शुरु गरेका छन् । धर्मको नाममा कमाई खाने भाँडो बनाएका कमल थापा भन्दा जनजातीको छोरा भएर पनि मुलुकलाई हिन्दु राष्ट्र बनाउनु पर्दछ भन्ने सोचले पार्टी अघि बढाएका कारण पनि लिङ्देनलाई मतदाताहरुले निर्वाचित गराएर पठाएका हुन् ।