मङ्सिर २३ देखि १९ औं हस्तकला व्यापार मेला

काठमाडौँ । नेपाल हस्तकला महासङ्घको आयोजनामा यही मङ्सिर २३ गते शुक्रबारदेखि २७ गते मङ्गलबारसम्म राजधानीमा १९ औं हस्तकला व्यापार मेला हुने भएको छ । बौद्धस्थित होटेल हायात रिजेन्सीमा हुने मेलामा हस्तकलाका वस्तुहरुको १ सय ५० वटा स्टल रहनेछन् ।

नेपालमा प्रत्येक वर्ष नियमित रुपमा अन्तर्राष्ट्रियस्तरको व्यापार मेला हुने सन्देश स्थापित गर्ने प्रयास स्वरुप विगतमा झैं यस वर्ष पनि मेलाको आयोजनालाई निरन्तरता दिइएको महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले जानकारी दिएका छन् ।

‘ नेपालमा हरेक वर्ष त्यही समयमा वार्षिक कार्यक्रमको रुपमा व्यापार मेला हुने सन्देश प्रवाह अन्तर्राष्ट्रियस्तरमा प्रवाह गर्न हामीले भरमग्दुर प्रयास गर्दै आएका छौं । यस पटकको मेलालाई पनि सोही प्रयासको कडीको रुपमा लिएका छौं ।’ अध्यक्ष शाक्यले भने हरेक वर्ष एकै समयमा मेला हुनेलाई अन्तर्राष्ट्रिय रुपमा स्थापित गर्न खोजे व्यापारसँगै विदेशी पर्यटन प्रवर्द्धन गर्न सघाउने छ ।’

अन्तर्राष्ट्रियस्तरमा सो मेलाको प्रवर्द्धनका लागि महासङ्घका अतिरिक्त नेपाल सरकारका कूटनीतिक नियोग र अन्य निकायसँग समन्वय गर्दै आएको पनि अध्यक्ष शाक्यले बताए ।

मेलाले हस्तकलाको सामग्रीहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा बजार प्रवर्द्धन, हस्तकलाको सामग्रीको बजारको विकासमा टेवा पु¥याउने, हस्तकला र नेपाली संस्कृतिको सम्बन्ध बुझाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास महासङ्घले लिएको छ । मेलामा नेपालमा बनेका र नेपालमै बनाउँ अवधारणा अनुरुप वस्तुहरु प्रदर्शन हुने पनि महासङ्घको भनाइ छ ।

महासङ्घका अनुसार मेलाको अवसर पारेर ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको कलाकारको सम्मान, गत आर्थिक वर्षमा हस्तकलाका सामग्री निर्यात गर्ने अग्रणी निकासीकर्ताहरुलाई सम्मान गरिनेछ ।

मेलासँगै १७ औं हस्तकला प्रतियोगिता पनि हुने महासङ्घले जानकारी दिएको छ । काष्ठकला, प्रस्तरकला र सेरामिकको प्रयोगबाट मानव मुखाकृति भएको गरुड बनाउने विधा र प्राकृतिक रेसाहरुको प्रयोगबाट मफलर बनाउने प्रतियोगिता सञ्चालन गरिनेछ । कला प्रदर्शनी अन्तर्गत फिलगिरी, थोज्यामाज्या धातु पत्रकला र पौभा थाङ्का गरी तीन वटा विधामा कला प्रदर्शनी हुने पनि महासङ्घले जानकारी दिएको

महासङ्घका अनुसार हस्तकलामा करिब ८ लाख व्यक्ति संलग्न छन् । हस्तकलालाई नेपालको मुख्य निर्यातमूलक उद्योगका रुपमा लिइन्छ । करिब १२ अर्ब मूल्य बराबरको हस्तकलाका वस्तुहरु बर्सेनि ६० वटा देशमा निर्यात हुने गरेको पाइएको छ ।