विश्वकप फुटवलः जापान र स्पेन नकआउट चरणमा, जर्मनी बाहिरियो

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटवल २०२२ अन्तर्गत समूह ‘इ’बाट जापान र स्पेन नकआउट चरणमा प्रवेश गरेका छन् ।

हिजो भएका अन्तिम खेलपछि ६ अङ्कका साथ जापान समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ भने ४ अङ्क जोडेको स्पेन उपविजेतामा सीमित भयो । स्पेनसँग समान ४ अङ्क हुँदा पनि जर्मनी भने नकआउट चरणमा प्रवेश गर्न सकेन ।

अन्तिम खेलमा ४ं-२ को गोल अन्तरले कोस्टारिकामाथि जित हासिल गरेपनि जर्मनी समूह चरणबाट बाहिरिएको थियो। स्पेनविरुद्धको खेलमा जापानको जितसँगै जर्मनीको नकआउट चरणमा प्रवेश गर्ने योजना सफल हुन सकेन भने कोस्टारिका ३ अङ्कका साथ पुच्छारमा रहँदै समूह चरणबाट बाहिर्रिएको थियो ।

जापन र स्पेनबीचको खेलको ११औँ मिनेटमा स्पेनका लागि अल्भारो मोराताले गोल गर्दै स्पेनलाई अग्रता दिलाएको थियो । खेलको ४८औं मिनेटमा जापानका लागि रित्सु दोआनले गोल गर्दै खेल बराबरीमा ल्याए भने त्यसको ३ मिनेटपछि अर्र्थात् खेलको ५१औं मिनेटमा ओ तानाकाले गोल गरेपछि जापानले २-१ को अग्रता लिएको थियो । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र जापान समूह विजेता बन्न सफल भयो ।

हिजो भएको अर्को खेलमा जर्मनी ४-२ गोल अन्तरले कोस्टारिकालाई पराजित गर्न सफल भएको थियो । जर्मनीका लागि खेलको १०औं मिनेटमा सेर्ज जर्नाब्रीले गोल गर्दै खेलमा अग्रता दिलाएको हो ।

खेलको ५८औं मिनेटमा कोस्टारिकाका लागि एल्टसिन तेजेदाले गोल गर्दै खेल बराबरीमा ल्याए भने जुआन प्याब्लोले ७०औं मिनेटमा गोल गर्दै कोस्टारिकालाई २-१ को अग्रता दिलाएका थिए । जर्मनीका लागि काइ हाभर्टेजले ७३औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए भने ८५औं मिनेटमा दोस्रो गोल गर्दै जर्मनीलाई खेलमा ३-२ को अग्रता दिलाएका थिए ।