फोहोर व्यवस्थापन गर्नका लागि नबिल बैंक र डोकोबीच सम्झौता

काठमाडौं । नबिल बैंक र डोको रिसाइक्लर्सबीच बैंकमा विभिन्न खालका फोहोरहरूको व्यवस्थापन गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौताबमोजिम डोकोले नबिल बैंकमा रहेको काम नलाग्ने कागजपत्रलाई टुक्र्याई पुनः प्रयोग गर्ने, कुहिने नकुहिने फोहोर छुट्याउने र अन्य विभिन्न खालका फोहोरको दिगो व्यवस्थापनका लागि सहकार्य गर्नेछ ।

सो सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगाना र डोको रिसाइक्लर्सका संस्थापक रुनित सरियाले हस्ताक्षर गरेका छन् । सम्झौताको पहिलो चरणमा डोकोले बैंकमा रहेका काम नलाग्ने कागजातको व्यवस्थापनमा कार्य गर्नेछ ।

बैंकमा प्रयोग भई काम नलाग्ने अवस्थामा रहेका कागजको फोहोरलाई टुक्र्याई पुनः प्रयोगयोग्य बनाउने, डिस्पोजलको कार्यलाई वातावरणमैत्री बनाउने र नयाँ कागज बनाउन पुराना कागजलाई कच्चा पदार्थको रूपमा प्रयोग गरी ‘रुख बचाऊ’ अभियानमा समर्थन जनाउने बैंकले जानकारी दिएको छ ।

बैंकका कर्मचारीहरू र ग्राउन्ड स्टाफका लागि व्यवहार परिवर्तनको लागि तालिम तथा सचेतना कार्यक्रम आयोजना गर्न डोकोले सहयोग गर्ने भएको छ । सम्झौतामा डोकोले बैंकको हाताभित्रै गएर काम नलाग्ने कागजातहरू स्रेडिङ मेसिनको सहायताले नष्ट गर्ने पनि उल्लेख गरिएको छ ।