बुधबारेमा सेनाको गाडी दुर्घटना, घाइतेलाई हेलिकप्टरबाट काठमाण्डौ ल्याइयो

काठमाडौँ । पाँचथर र धनकुटाको सिमावर्ती ६ नम्बर बुधबारेमा नेपाली सेनाको बस दुर्घटना भएको छ । सो बस बुधबारेबाट पाँचथरको जोरपोखरी तर्फ आउँदै गर्दा दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बा १ ग ३४४२ नम्बरको वानटन गाडी आइतबार अपराह्न इलामको माङसेवुङ गाउँपालिका वडा नम्बर ६ दारेगौंडाको उकालो बाटोमा ब्रेकफेल भइ दुर्घटनामा परेको थियो ।

रणशेर गणअन्तर्गत पाँचथरको बुधवारे पोष्टमा तैनाथ “ग” गुल्मको फौज सामुहिक तालिमको लागि अदली बदली गर्ने क्रममा सडक दुर्घटना हुँदा १५ जना घाइते भएका हुन् ।

घाइते मध्य १३ जनालाई हेलिकप्टरमा अहिले काठमाण्डौ ल्याएर छाउनी अस्पतालमा उपचार शुरु गरिएको छ । दुर्घटनामा घाइते १५ मध्ये २ जनाको अवस्था केही चिन्ताजनक छ । क्याप्टेन किशोर बोगटीको कमाण्डमा २७ जना बा २ झ ४८० नम्बरको बोलेरो जीप र बा १ ग ३४४२ नम्बरको टाटा ट्रकमा सवार भएका थिए ।

दुर्घटनामा सैनिक प्युठ कााशिराम चौधरी, प्रविण खड्का, शिव राना, ओमप्रकाश थापा, नायक रवी तामाङ, रमेश चौधरी, सूर्य थारु, चन्द्रबहादुर कार्की, दिलबहादुर साही, लोटन थारु, हवल्दार प्रकाश आचार्य, लेस नायक रञ्जित चौधरी, र जवान धर्मैश कापर, देवीलाल सुनुवार छन् ।