मादी नदी किनारमा पर्खाल लगाउन सुरु

काठमाडौं । गत वर्ष भदौमा मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका–५ पाटनका करिब ६ सय ६३ घरधुरी जोखिममा परेपछि त्यसको संरक्षणका लागि ग्याबिन पर्खाल लगाउन सुरु गरेका छन् ।

नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको २ करोड ५० लाखको लागतमा ग्याबिन पर्खाल लगाउन थालिएको हो। समितिका अध्यक्ष अर्जुनकुमार श्रेष्ठका अनुसार व्यास–५ को पाटनमा १ सय २ मिटर र व्यास–३ को भतेरीमा २ सय ५८ मिटर लामो ग्याबिन पर्खाल लगाएर संरक्षण गर्न उक्त बजेट विनियोजन गरिएको मादी तटबन्धन निर्माण भएको छ ।

व्यास–५ पाटनका ६ सय ६३ र व्यास व्यास–३ का ४ सय घर गरी करिब १ हजार १ सय घर नदी कटानको जोखिममा रहँदै आएका थिए भने पाटनतर्फ ३ सय मिटरमा ग्याबिन पर्खाल लगाउने योजना भए पनि पहिलो चरणमा १ सय २ मिटरमा पर्खाल लगाउने प्रक्रिया अघि बढाइएको उनले बताएका छन् ।

नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका करिब १ दर्जन सङ्घसंस्थाका भौतिक संरचनासमेत धरापमा पर्ने देखिएका थिए । मादीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसका गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएपछि उच्च जोखिममा परेको टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए ।

वैशाखमा टेण्डर भए पनि वर्षायाम सुरु भएकाले अहिले आएर निर्माण कार्य सुरुआत गरिएको हो साथै २ महिनाभित्र निर्माण काम सम्पन्न गर्नेगरी एमआर एण्ड गु्रप प्रालीले निर्माणको जिम्मा पाएको छ ।

यसैगरी नदी बस्तीतर्फ सोझिएपछि उच्च जोखिममा रहेका बस्तीका मानिस रातभर जाग्राम बसेर कटाउनुपरेको उनले पीडा सुनाएका थिए। अध्यक्ष श्रेष्ठका अनुसार वृद्धाश्रम, भजनकीर्तन समितिको भवन, गुरुकूल आश्रम, पाटन खेलकुद मैदान, पाटन परासर पार्क, भूपू भवन, सामुदायिक भवन, परासर माध्यमिक विद्यालयलगायत क्षति हुने देखिएको बताएका छन् ।

तल्लो पाटनमा मगर, गिरी बस्ती, विद्यालय क्षेत्रमा सबै मिश्रित जातजाति र झोलुङ्गे पुल आसपास क्षेत्रमा नेवार समुदायका मानिसको बसोबास रहेको छ । नगरपालिकाले मादी नदीले कटान गरी जोखिम बनाएको पाटन, दमौली, सिसाघाट बजार, कलेस्ती बजार, गौ संरक्षण क्षेत्रलाई संरक्षण गर्न सङ्घ सरकारबाट बजेट विनियोजन गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिएका छन् ।

गत वर्ष ५ करोड र यस वर्ष २९ करोड बजेट विनियोजन गरिएको छ । उनका भनाइ अनुसार बर्सेनि नदी कटानबाट जोखिममा बसोबास गर्दै आएका बासिन्दालाई सुरक्षित गर्न नगरपालिकाबाट पहलकदमी भइरहेको जानकारी दिएका छन् ।