आज समानुपातिकतर्फको मतगणना सकिंदै

काठमाडौँ । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिकर्फको मत गणना आज मंगलबार सकिने भएको छ ।

मंगलबार बिहान ६ बजेसम्म १ करोड ४ लाख ७८ हजार ७ सय ३५ मतगणना भएको छ । जसमा २८ लाख १४ हजार ६ सय ५५ मत मत पाउँदै नेकपा (एमाले) अग्रस्थानमा रहेको छ । यस्तै २६ लाख ८८ हजार २ सय १८ मतसहित कांग्रेस दोस्रो र ११ लाख ६४ हजार १ सय २ मतसहित नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा रहेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७ सय ७८ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८ सय १६ मत पाएको छ । जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९ सय ५४ मत पाउँदा जनमत पार्टीले ३ लाख ९४ हजार मत पाएको छ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले भने २ लाख ९६ हजार ९० मत मात्रै पाएको छ ।

प्रत्यक्षतर्फको सबै परिणाम आईसकेकाले निर्वाचन आयोगले समानुपातिकतर्फको मत गणना सकिएलगत्तै सिट विभाजनको प्रक्रिया सुरू गर्ने भएको छ ।

आगामी २८ गतेसम्ममा निर्वाचनको सम्पूर्ण नतिजासहितको प्रतिवेदन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेको छ । त्यसपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्ने छन् ।