अरुण डाँडा महोत्सव सुरु

काठमाडौं । स्थानीय पौवादुङमा गाउँपालिकाको अरुण डाँडा छिन्तालुङमा अरुण डाँडा महोत्सव सुरु भएको छ ।

पौवादुङमा गाउँपालिकाको उत्सव, हाम्रो पहिचान संस्कृति सम्पदा आन्तरिक तथा बाह्य पर्यटन महोत्सव भन्ने मूल नारासहित बिहीबारदेखि सुरु भएको महोत्सव छ दिनसम्म सञ्चालन हुनेछ । स्थानीय कृषि उत्पादनका साथै धार्मिक एंव पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न ६ दिने महोत्सव सुरु भएको बताएका छन् ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले भने गाउँपालिकाको आन्तरिक आय वृद्धि गर्न र पर्यटकीय क्षेत्रको विकासका लागि महोत्सव आयोजना गरिएको र यसका लागि गाउँपालिकाले १० लाख विनियोजन गरेका छन् । महोत्सवमा आगन्तुकलाई लक्ष्य गरेर विभिन्न जातजातिको खानाको परिकार, कृषि प्रदर्शनी, विभिन्न संस्कार र संस्कृतिको प्रदर्शनीसँगै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति गरेका छन् । अरुण डाँडाको विकासका लागि विस्तृत परियोजना तयार गरेर काम भइरहेको गाउँपालिकाले जानकारी दिएको छ । यहाँको विकासको काम भइरहेकाले थप प्रचारप्रसारको लागि महोत्सव आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष किरण राईले बताएका छने ।

उनले भने हाम्रो गाउँपालिका क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा जुटेका छौँ र डिपीआर अनुसार अरुण डाँडाको बृहत्तर विकास गर्न ८० रोपनी क्षेत्रमा काम अघि बढाएका छन् । यो ठाउँलाई हाम्रो गाउँपालिकाको दिगो आम्दानीको स्रोतको रुपमा विकास गर्न लागिपरेका छन् । महोत्सव आयोजनाबाट स्थानीयवासी उत्साहित भएका छन् ।

महोत्सवमा पर्यटन प्रवद्र्धन गर्ने खालका सामग्रीका स्टल, विभिन्न भाषाभाषी र जातजातिको संस्कार झल्काउने प्रदर्शनी, स्थानीय खाना तथा कृषि उत्पादनको प्रदर्शनी गरेका छन् । यसले यहाँको कृषि उत्पादनलेसमेत बजार पाउने पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका ज्ञानेन्द्र राईले बताए । समुद्री सतहबाट २ हजार ३ सय मिटर उचाइमा रहेको अरुण डाँडाबाट हिमालका दृश्यसँगै सुन्दर फाँटको अवलोकन गर्न सकिने बताएका छन् ।