कर्णालीमा डोजर दुर्घटना हुँदा ३ को मृत्यु

काठमाडौँ । कर्णाली करिडोरको कालीकोट खण्डमा डोजर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

कालीकोटको रास्कोट ७ का २२ वर्षका मिलन शाहीको उपचारको क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।

कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक सुभराज बमका अनुसार कर्णाली करिडोरमा पर्ने सान्नीत्रिवेणी १ लुसा भीरबाट कर्णाली नदीमा डोजर खस्दा सान्नीत्रिवेणी १ का १७ वर्षका चरित्र विक र १४ वर्षका युवराज बुढाको घटनास्थलमै मृत्यु भएको बताए ।

डोजर चालक कैलालीका २२ वर्षका कमल सोडारी, सान्नीत्रिवेणी १ का १९ वर्षका उमेश गिरी र १४ वर्षका रक्तिम विक वेपत्ता भएको र उनीहरूको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

कर्णाली नदीमा डुबेको डोजरमै उनीहरू च्यापिएको हुनसक्ने अनुमानमा डोजर निकाल्ने प्रयास भइरहेको प्रहरी निरीक्षक बमले बताए । डोजर निकाल्दा पनि वेपत्ता भएका नभेटिए खोजीका लागि गोताखोरलाई अनुरोध गरिने उनको भनाइ छ । खाडाचक्र ११ बरातुका विकाश भारती र आशिष भारतीको भने जिल्ला अस्पताल मान्ममा उपचार भइरहेको छ ।

हिजो दिउँसो ४ सय ८० मेगावाटको फुकोट हाइड्रोपावरको सुरुङ्भित्र पानीको अवस्था परीक्षण गरेर फर्किएको डोजर दुर्घटनामा परेको हो ।