जुद्धोदय माध्यमिक विद्यालयको जग्गा पनि ठेकेदारले कब्जामा

काठमाडौं, वैशाख । काठमाडौं प्रमुख केन्द्र ठमेलमा रहेको पुरानो सरकारी विद्यालय जुद्धोदय माध्यमिक विद्यालयको जग्गा ठेकेदारले कब्जामा लिएका छन् । विद्यालयको जग्गामा व्यापारिक भवन निर्माण गरेर तरुण निर्माण सेवाले लाखौं कमाउँदै आएको छ  ।
सुविधासम्पन्न विद्यालय भवन साढे ३ वर्षभित्र निर्माण गर्नुपर्ने सम्झौतासहित विद्यालय व्यवस्थापन समितिले २०६५ मा उक्त कम्पनीलाई ३० वर्षका लागि जग्गा लिजमा दिएको थियो । निर्माण कम्पनीले भने विद्यालय भवन सकेपछि मात्रै व्यापारिक भवन बनाउनुपर्ने सम्झौता मिच्दै दुवै भवन एकसाथ बनाउन थाल्यो ।
सुविधासम्पन्न विद्यालय भवन साढे ३ वर्षभित्र निर्माण गर्नुपर्ने सम्झौतासहित विद्यालय व्यवस्थापन समितिले २०६५ मा उक्त कम्पनीलाई ३० वर्षका लागि जग्गा लिजमा दिएको थियो । निर्माण कम्पनीले भने विद्यालय भवन सकेपछि मात्रै व्यापारिक भवन बनाउनुपर्ने सम्झौता मिच्दै दुवै भवन एकसाथ बनाउन थाल्यो ।करिब १ हजार विद्यार्थी भने वर्षौंदेखि निर्माणाधीन भवनमा कोचिएर पढ्न बाध्य छन् । खेलमैदान तथा शौचालयसमेत छैन । विद्यालय भवनको पनि तल्लो तला मात्र तयार भएको छ । त्यही सीमित कोठामा विभिन्न कक्षाका विद्यार्थीलाई राखेर पढाइ हुन्छ । अन्य तलाका कोठा निर्माणकै चरणमा छन् । ६० प्रतिशत जग्गामा तरुण सेवाले आफ्नो भवन बनाएको छ । बाँकी ४० प्रतिशत जग्गामा स्कुलको भवन निर्माणाधीन छ । दुई भवनका कारण विद्यार्थीलाई दैनिक प्रार्थना गर्ने ठाउँ पनि छैन । विद्यालय परिसरमा खुला ठाउँका नाममा दुई भवनको चेपबाट सानो ढोका मात्र बाँकी छ ।

सम्झौताअनुसार साढे ३ वर्षमा दुवै भवन पूरा गरेर विद्यालयलाई मासिक रकम बुझाउनुपर्थ्यो । विद्यालयले प्रतिमहिना ४ लाख ३५ हजारका दरले व्यापारिक भवनबाट भाडा पाउने सम्झौतामा उल्लेख छ । निर्माण कम्पनीले अहिलेसम्म व्यापारिक भवन पनि पूरा गरेको छैन । भवन पूरा गरेपछि मात्रै मासिक भाडा तिर्ने र भाडादर वार्षिक १० प्रतिशतका दरले बढ्दै जाने सम्झौतामा उल्लेख छ ।

तत्कालीन व्यवस्थापन समिति अध्यक्ष विश्वभक्त श्रेष्ठ र प्रधानाध्यापक सूर्यराज शाक्यको अगुवाइमा जग्गा लिजमा दिने निर्णय भएको थियो । उनीहरूको बदमासीका कारण विद्यालयको जग्गाबाट ठेकेदारले लाभ लिइरहेको एक सदस्यले बताए । ‘जग्गा ठेकेदारलाई सुम्पेर उहाँहरूले विद्यालय छाड्नुभयो,’ उनले भने, ‘आज विद्यालय दुरवस्थामा पुगेको छ ।’

त्यसपछिका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकले पनि ठेकेदारको बदमासीलाई साथ दिइरहेका छन् । २०६९ वैशाखदेखि ३० वर्षसम्म निर्माण कम्पनीले विद्यालयलाई भाडा दिनुपर्थ्यो । पूरक सम्झौता गरेर विद्यालयले नै भाडा तिर्न ठेकेदारलाई छुट दिएको छ । त्यसअनुसार २०७५ को सुरु केही महिना मात्र ठेकेदारले मासिक भाडा आंशिक रूपमा बुझाएको विद्यालयले जनाएको छ । निर्माण कम्पनी सञ्चालक मिश्रले भने दुईवर्षदेखि नै विद्यालयलाई मासिक रकम दिँदै आएको दाबी गरेका छन् ।