दाइजोविरुद्धको कसुरमा डा.चौधरी पक्राउ

काठमाडौँ । दाइजो विरुद्धको कसुरमा महोत्तरीका डा. पंकज चौधरी पक्राउ परेका छन् । महोत्तरीका रामगोपालपुर नगरपालिका ५ का ३५ वर्षीय डा. चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

पंकजकी श्रीमती नेता चौधरीले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलले जानकारी दिए । दाइजोविरुद्धको कसुरमा कारबाही गर्न पंकजलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छौं, प्रवक्ता पोखरेलले भने, ‘दाइजो मागेको जाहेरीको आधारमा मंगलबार पक्राउ गरी अनुसन्धान थालेका छौं, अहिले केही भन्न मिल्दैन, अनुसन्धान चल्दैछ । थप कुराहरु खुल्दै जानेछ ।’

काठमाडौंमा बस्दा पंकज र नेहाबीचको चिनजान र भेटघाट विस्तारै प्रेम सम्बन्धमा परिणत भयो । कक्षा ११ टाइम्स क्याम्पसमा पढ्दै गर्दा महोत्तरीकै रामगोपालपुर नगरपालिका–५ का पंकजसँग प्रेम सम्बन्ध विस्तारै बढ्दै गयो । प्रेम जीवन्त बनाउन उनीहरुले बिहेका लागि आफ्ना घरपरिवारसँग कुरा राखे । पंकज र नेहा दुवैले एक अर्कालाई मन पराएको हुनाले घरपरिवारले सम्बन्ध सहजै स्वीकार गर्‍यो । मन पराएको मान्छेलाई श्रीमानको रुपमा पाउँदा नेहा खुसी नहुने कुरै थिएन् ।

पंकजका बुवा रामप्रवेश चौधरीले विवाहका लागि नेहाको परिवारसमक्ष पंकजलाई चिकित्सक पढाइका लागि सबै खर्च व्यहोर्नुपर्ने सर्त राखे । अन्यथा विवाह हुन नसक्ने प्रस्ताव राखे । अन्यथा जस्ले चिकित्सक पढाउन पैसा दिन्छ, उसैसँग विवाह हुन्छ भन्ने प्रस्ताव राखेका थिए । छोरीको खुसीका लागि नेहाका बुवा सुरेश चौधरीले पंकजको परिवारलाई ५१ लाख रुपैयाँ दियो ।

सर्तअनुसारको पैसा पंकजको परिवारले बुझेपछि बर्दिबासको गुञ्जा होटलमा २०७७ फाल्गुन ६ गते इन्गेजमेन्ट भयो । २०७८ फाल्गुन २५ गते विधिवतरुपमा जनकपुरको राजदरबार होटलमा उनीहरुको धुमधामका साथ विवाह भएको थियो ।

विवाहमा २० तोला सुन, फर्निचर समानसहित कूल खर्च सवा करोड रुपैयाँमा विवाह भयो । फैन्सी स्टोरको पसल चलाउने सुरेशले घर, जग्गा बेचेर छोरीको विवाह खर्च जुटाए । विवाहका लागि नगद, सरसमान पंकजको परिवारको इच्छा अनुसार पनि दिएका थिए ।

डाक्टर श्रीमानले काठमाडौंको ग्राण्डी र नर्भिकमा अस्पतालमा काम पाएपछि नेहा खुशी र सुखी थिइन् । विवाहको महिनारदुई महिनासम्म घर परिवार तथा पंकजको व्यवहार राम्रौ थियो तर त्यसलगत्तै पंकजको परिवारका सदस्यले नेहालाई मानसिक तनाव दिन थाले ।

विवाहपछि सासू–ससुरा अमेरिका र श्रीमान् कामका लागि काठमाडौं फर्किए । नेहाले श्रीमानसँगै काठमाडौं बस्ने र पढाइलाई निरन्तरता दिने इच्छा राखिन्।
पंकजले ठाडै अस्वीकार गरिदिए।। बरु पंकज काठमाडौं जाँदा नेहालाई महोत्तरीमै छाडेर गए । नेहाको काठमाडौं जाने प्रस्तावमा पंकजले विहे काठमाडौंमा लगेर राख्न नभइ घरव्यवहार चलाउन गरेको भनेर जवाफ फर्काएको नेहा बताउँछिन्।

महोत्तरीमा नेहा गाउँमै बस्न थालिन् । नेहासँग पंकजकी बहिनी रेखा पनि थिइन्। रेखाले सासू ससुरासहित पंकजलाई हुँदै नभएको कुरा लगाएर सुनाउने गरेको नेहा बताइन्। काठमाडौंमै घर किन्न माइतबाट पैसा माग्न अह्राएर आफूसँग बार्गेनिङ्ग गरेको नेहाको आरोप छ।

पंकज बिदामा घर आउँदा नेहासँग राम्रोसँग नबोल्ने, कुटपिट र यातना दिने गरेको नेहाले बताइन् । नेहाका अनुसार पीडा सहन नसकेपछि माइती पुर्‍याइदिन आग्रह गर्दा पंकज र उनकी आमाले बाआमालाई फोन गरेर ‘तपाईंकी छोरी पागल भइसकी घर लैजानुस् भनेर थर्काउने गर्थे।

त्यसपछि आमा र भाइ आएर नेहालाई लिएर गए । माइती पुगेपछि उनले पंकजविरुद्ध कार्तिक ४ मा घरेलु हिंसाको निवेदन दिइन् । चार दिनपछि प्रहरीले छलफलका लागि पंकज र नेहालाई बोलायो । पंकजले प्रहरीसमक्ष नै नेहालाई राख्न सक्दिन, सम्बन्ध विच्छेदको कुरा गरे । तर नेहाले सम्बन्ध बिच्छेद नचाहेको बताइएकी छन्।