चन्द्रागिरिमा फोहर छुट्याएर सङ्कलन गर्दैै

काठमाडौँ । चुनौतीपूर्ण भइरहेको बेला चन्द्रागिरि नगरपालिकाले फोहरलाई छ थरी झोलामा कुहिने र नकुहिने फोहर छुट्टाछुट्टै सङ्कलन गर्ने तयारी सुरु गरेको छ ।

नगरवासीलाई घरबाट निस्किने फोहरको अधिकांश भाग आफैँ व्यवस्थापन गर्न लगाउने उद्देश्यले एउटा घरलाई छ वटा अगल–अलग झोला वितरण गरिने र नगरपालिका प्रमुख घनश्याम गिरीका अनुसार यसले सङ्कलन हुने फोहरको परिमाण उल्लेख्यरुपमा घटाउन र बाँकी फोहर दीर्घकालीनरुपमा व्यवस्थापन गर्न कार्यक्रम सुरु गरेका छन् ।

यस अन्तर्गत नगरवासीलाई हरियो, रातो, कालो, सेतो, नीलो र पहेँलो गरी छ प्रकारका झोला वितरण गरिने साथै उनीहरुलाई हरियो झोलामा तरकारीलगायतका खाद्यपदार्थबाट निस्किएका फोहर राख्न भनिने छ । सम्भव भएसम्म हरियो झोलामा सङ्कलन हुने फोहरबाट मल बनाउन उत्प्रेरित गर्ने नगरपालिकाले बताएको छ ।

यसैगरी रातो रङको झोलामा सिसा र सिसाजन्य फोहर राख्न र त्यसलाई आफैँले कवाडीमा बेच्न प्रेरित गरिने र कालो झोलामा प्लाष्टिक र प्लाष्टिकजन्य फोहर राख्ने र त्यसलाई पनि नगरवासी आफैँले बेच्नका लागि प्रेरित गरिनेछ ।सेतो झोलामा कागज र कागजजन्य फोहर थुपार्ने र त्यसलाई समेत कागज पुनः प्रयोग गर्नेलाई बेच्नका लागि प्रेरित गरिने छ ।

फलाम र कवाडीजन्य अन्य सामान थुपार्न निलो रङको झोला उपलब्ध गराइने र त्यसलाई पनि नगरवासी आफैँले बेच्न सक्नेछन् । यसैगरी व्यक्तिगत तवरमा व्यवस्थापन गर्न नसकिने स्यानिटरी प्याड, डाइपरआदि फोहरलाई पहेँलो झोलामा सङ्कलन गर्न प्रेरित गरिने छ ।

कुहिने फोहरमा माटो र धानका भुस र बिरुवाका पात राखेर नगनाउने गरी मल बनाउन सकिने नगरपालिकाबाट तयार गरिएको सन्देशमा उल्लेख गरेका छन् । यसका साथै फोहरलाई सङ्कलक नआएको बेला घरभित्र राख्न र सङ्कलक आएको बेलामा मात्र बाहिर निकाल्न पनि नगरपालिकाले बताएको छ । कुहिने फोहर मलका रुपमा र नकुहिने फोहर पैसाका रुपमा नगरवासीलाई नै फिर्ता दिने उद्देश्यले यो कार्यक्रम गर्न लागेका बताए ।

यसैगरी फोहरको प्रकृतिअनुसार छुट्याउनका लागि झोला मात्र वितरण नगरी कुन दिन कुन टोलमा ६ वटामध्ये कुन प्रकारको फोहर उठ्छ भन्नेसमेत तय गरिने छ र नगरवासीलाई यसैअनुसार सूचना दिइने नगरपालिकाकी विपद् व्यवस्थापन शाखाप्रमुख भद्रा अर्यालले जानकारी दिएका छन् ।

उनका अनुसार नगरपालिकाभित्र कूल ६ वटा संस्थाले फोहर सङ्कलन गरिरहेका छन् । तिनलाई पनि निश्चित बार निश्चित प्रकारको फोहर मात्र उठाउने गरी प्रशिक्षित गरिने छ ।

घरको फोहर त्यसको प्रकृतिअनुसार अलग–अलग भाँडामा सङ्कलन गर्ने बानी लगाउन यसो गरिएको नगरप्रमुख गिरी बताएका छन् । अहिले प्लाष्टिकको झोलामा अलग–अलग फोहर सङ्कलन गर्न लगाउने र पछि विस्तारै बलियो भाडा दिने नगरपालिकाले जानकारी दिएको छ ।