देउवालाई पहिलो प्रधानमन्त्री बनाउन प्रकाशमानको प्रस्ताव

काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई दिएको समयसीमा सकिन दुई दिन बाँकी छ । यातादलहरू भने अबको नयाँ सरकार गठनका लागि गृहकार्यमा लागेका छन् ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर नेपाली काँग्रेसको नेतृत्वमा सरकार गठन गर्न आग्रह गरेका छन् ।

नेता सिंहका स्वकीय सचिव युपी लामिछानेका अनुसार, नेता सिंहले सरकारको कार्यकाल बाँड्ने र पहिलो प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन गरी सघाउन आग्रह गरेका थिए । नेता सिंहले अन्य राजकीय पदहरूमा शक्तिको बाँडफाँट गर्न पनि अध्यक्ष प्रचण्डसमक्ष प्रस्ताव गरेको थियो ।

अध्यक्ष प्रचण्डले पाँच दलीय गठबन्धनको सरकारको नेतृत्व काँग्रेसले गरेकोले अब बन्ने सरकारको पहिलो नेतृत्व आफूले गर्न पाउनुपर्ने भनाई राखेको कांग्रेस नेता सिंहका स्वकीय सचिव लामिछानेले रेडियो नेपाललाई बताए । प्रचण्डसँगको भेटपछि बालुवाटार पुगेर नेता सिंहले प्रचण्डसँग भएको कुराकानी बारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए ।