आरोपी भरतराम कोली कारागार चलान

काठमाडौँ । बैतडीको पञ्चेश्वर गाउँपालिका(४ सौलोडाकी २१ वर्षीया माया लुहारको हत्याको आरोपमा पक्राउ परेका भरतराम कोलीलाई कारागार चलान गरेका छन् ।

जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिएका छन् । शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय कोलीमाथि गत मङ्सिर १३ गते घाँटी रेटेर हत्या गरेको आरोप रहेको छ ।

यसैगरी सशस्त्र प्रहरीका जवानसमेत रहेका कोलीविरुद्ध मायाको घाँटी रेटेर हत्या गरी लुहारकी भदै नाता पर्ने १५ वर्षीया नेहा लुहारलाई घाइते बनाएको आरोप छ । घटनापछि फरार रहेका कोलीलाई प्रहरीले मङ्सिर १८ गते महेन्द्रनगरबाट पक्राउ गरेको बताएका थिए ।

कोलीविरुद्ध कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान गरेको थियो र उनले माया लुहारको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेको प्रहरीको जानकारी दिएको छ ।