कैलालीमा नक्कली नोट र बाघको हड्डीसहित ५ जान पक्राउ

काठमाडौँ । कैलालीमा १ लाख ४२ हजार नक्कली नोट, वन्यजन्तुको हड्डी र जडीबुटीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चुरे गाउँपालिका–६ बस्ने ५५ वर्षीय लालबहादुर साउँद, दार्चुलास्थित लेकम गाउँपालिका–६ बस्ने ३३ वर्षीय लीलाधर मिश्र, डोटीको शिखर नगरपालिका–१० का ३० वर्षीय करणसिंह धामी रहेका छन् । यसै गरी, डोटीको बडिकेदार गाउँपालिका–१ का ५० वर्षीय मोहन बोहरा र १९ वर्षीय टेकेन्द्र धामी रहेका छन् ।

धनगढीको विभिन्न स्थानमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । पक्राउ परेका व्यक्तिहरूको साथबाट १ सय ४२ थान एक हजार दरको नक्कली नोट, बाघको हड्डी जस्तो देखिने वन्यजन्तुको हड्डी ५ किलो ५ सय ३० ग्राम र जडीबुटी बरामद गरिएको छ ।

नक्कली नोटको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले धनगढी उपमहानगरपालिका–४ बाट सुरुमा लालबहादुर साउँदलाई पक्राउ गरेको थियो । उनका साथबाट एक हजारका चार थान नक्कली नोट बरामद भएपछि सोधपुछ गर्ने क्रममा नक्कली नोट कारोबारीको सञ्जाल सक्रिय रहेको खुलेको थियो ।

सोधपुछको क्रममा पाएको सूचनाको आधारमा धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित एसएस होेटलमा कोठा लिएर बसेका लीलाधार, करणसिंह र मोहनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले करणसिंह धामीको सोही वडामा रहेको डेराको कोठामा खानतलासी गर्दा थप पैसा, वन्यजन्तुको हड्डी र जडीबुटी प्राप्त गरेको हो । करणसिंह बस्दै आएको डेराको कोठामा हजारका १ सय ३८ थान नक्कली नोट खटियाको सिरानीमुनि लुकाएर राखिएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । यस्तै, खटियाको प्लाइमुनि जेब्रा झोलाभित्र लुकाएर राखेको अवस्थामा वन्यजन्तुको हड्डी, प्लास्टिक झोलामा लुकाइएको जडीबुटी र फलामका टुक्रा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिएका छन् ।