निवर्तमान प्रधानमन्त्री देउवाले बालुवाटार छाडे

काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका छन् ।

देउवा बालुवाटारबाट महाराजगञ्जस्थित घले निवासमा सरेका छन्। बुढानिलकण्ठस्थित घर मर्मत जारी रहेकोले देउवा महाराजगञ्जस्थित भाडाको घरमा सरेका हुन्। महाराजगञ्ज भाडाको घरमा सरेका उनका प्रेस प्रमुख गोविन्द परियारले बताएका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रधानमन्त्रीको रुपमा कार्यभार सम्हालेको तीन दिन पछि देउवाले सरकारी निवास छाडेका हुन् ।

पाँचौ पटकसम्म प्रधानमन्त्री बनेका देउवाको बालुवाटारको बसाइ यसपटक १८ महिना रह्यो। २०७८ साउन २९ गते देउवा प्रधानमन्त्री नियुक्त भएका थिए। देउवा बालुवाटारबाट सरेपछि अब प्रचण्ड बालुवाटार सर्ने तयारीमा छन्।