मिनि म्याराथन प्रतियोगितामा तामाङ र सेर्पालाई उपाधि

काठमाडौँ । पाँचथरको फिदिममा चासोक मेलाका अवसरमा आयोजित सुम्हात्लुङ मिनि म्याराथन प्रतियोगितामा पुरुषतर्फ धरानका प्रशान्त तामाङ र महिलातर्फ ताप्लेजुङकी समपाल्मु सेर्पाले जित हासिल गरेका छन् ।

४६ जना सहभागी पुरुषतर्फको प्रतियोगितामा निर्धारित साढे ९ किलोमिटर दूरी तामाङले २९ मिनेट १० सेकेण्डमा पूरा गरेका थिए। यसैगरी महिलातर्फकी विजेता सेर्पाले ३७ मिनेट २० सेकेण्डमा दूरी पूरा गरेकी थिइन् ।

महिलातर्फ ८ जनाले भाग लिएका थिए । यस्तै पुरुषतर्फ २९ मिनेटमा दूरी पार गर्दै ताप्लेजुङका रमेश लिम्बू दोस्रो र पाँचथरका दीपक सुहाङ तेस्रो स्थान हासिल गर्न सफल भएका छन् । सुहाङले ३० मिनेट ३० सेकेण्डमा उक्त दूरी पार गरेका थिए ।

महिलातर्फ धरानकी ४३ मिनेट ५८ सेकण्डको अवधिमा उक्त दूरी पार गरेकी देवीमाया राई दोस्रो र पाँचथर फिदिमकी समीक्षा सेर्माले ४५ मिनेटमा दूरी पार गरेर तेस्रो स्थान हासिल गरेको जानकारी दिएका छन् । पुरुषतर्फको प्रतियोगिताका धावकमध्ये प्रथम, द्वितीय र तृतीयलाई उपाधिसहित नगद ३०, २० र १० हजार तथा महिलातर्फका धावकलाई नगद ५, ३ र २ हजार पुरस्कार प्रदान गरेको बताएका छन् ।

यसैगरी विजेतालाई प्रमुख अतिथि फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले, प्रायोजक शकुन्तला नेम्वाङलगायतले पुरस्कार प्रदान गरेको बताएका छन् ।