प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने : गृहमन्त्री

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रहरी कर्मचारीको सरुवा र बढुवा मापदण्ड बाहिरबाट नहुने बताएका छन् । प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर लामिछानेले सरुवा, बढुवा माग्दै नेताहरुको घर घर पुगेको थाहा पाए कारबाही गर्ने बताएका छन् ।

गृहमन्त्री बनेपछि पहिलो पटक निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय पुगेका थिए । उनले भने,यदी ‘सरुवा र बढुवाको कुरा लिएर नेताका घर घर जाने कुरा अन्त्य गरिनेछ । हाम्रोभन्दा पनि राम्रो मान्छे प्राथमिकतामा पर्नेछन् ।’

आफूले प्रहरीभित्रका विकृति राम्ररी बुझेको बताउँदै उनले भने, ‘गलत क्रियाकलाप भएको पाइए कसैको कुरा सुन्ने छैन ।’ उनले आफूले पनि कुनै कुरामा दबाब नदिने बताउँदै सबै कुरा कानूनले बाँधेर गर्ने बताए । उनले प्रहरीको सेवा, सुविधा, रासन र तलब स्केल सबैको पुनरावलोकन गर्ने पनि बताए ।

उनले राम्रो काम गर्नेलाई पुरस्कृत र प्रहरीका आचरण विपरितका क्रियाकलाप गर्नेलाई दण्डित गर्ने पनि बताए । उनले भने, ‘हिजोका दिनमा जे–जे भए भए, आगामी दिनमा कसैले पनि कानूनी विपरितका क्रियाकलाप नगरोस्, विकृति विसंगतिका अन्त्य गर्छु ।’