एमडीएमएसको कार्यान्वयन तत्कालका लागि स्थगित

काठमाडाैँ । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेण्ट सिस्टम (एमडीएमएस) प्रणाली तत्काल लागू नगर्ने निणर्य गरेकाे  छ। नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट एमडीएमएस प्रणाली तत्काल लागू गर्ने तयारी गरेको थियो। विदेशमा रहेका नेपालीले उपहारको फोन र ल्यापटप ल्याउँदा भन्सार अनिवार्य गर्ने सरकारको निर्णय खारेज गर्न आवाज उठेको पछि निर्णय कार्यान्वयन नभएको हो।

दूरसञ्चार प्राधिकरणका सह-प्रवक्ताअच्युतानन्द मिश्रले एमडीएमएस तत्काल लागू गर्न निर्देशन आएकाले आजबाटै लागू नहुने जानकारी दिएका छन्।

विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका तर एमडिएमएस प्रणालीमा दर्ता नभएका वा गएको भदौ महिनाभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरूको १५ डिजिट नम्बरसहितको भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिइ प्रणालीमा अद्यावधिक गर्न प्राधिकरणले अनुरोधसमेत गरेको थियो।

नेपालभित्रै मोबाइल खरिद गर्दा पनि खरिद मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडिएमएस प्रणालीमा दर्ता भए वा नभएको यकिन गर्न सकिने हुँदा त्यसअनुसार यकिन गरेर मात्र खरिद गर्न साथै मोबाइल आयातकर्ता र बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्यरूपमा प्राधिकरणको पूर्वस्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न प्राधिकरणले जानकारी गराएकाे  थियाे ।

मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि परीक्षणका रूपमा एमडिएमएस लागू गर्न सूचना जारी गरेको थियो।