सोलुखुम्बुमा विद्यार्थी तथा शिक्षकलाई ज्याकेट वितरण

काठमाडौँ । सोलुखुम्बुको माप्यदूधकोशी गाउँपालिका–३ का २ विद्यालयका १५६ जना विद्यार्थी तथा शिक्षकलाई ज्याकेट वितरण गरेका छन् ।

एड फर नेपालले चिसोको समयमा पद्मकन्य आधारभूत विद्यालय र सिद्धकाली आधारभूत विद्यालयका १४२ जना विद्यार्थी र १४ जना शिक्षकलाई १/१ थान ज्याकेट प्रदान गरेका छन् ।

संस्थाका अध्यक्ष एवं टानका पुर्व अध्यक्ष चोलेन्द्रबहादुर कार्कीको पहलमा पद्मकन्यका ११२ जना र सिद्धकालीका ३० जना विद्यार्थीलाई कपडा वितरण गरिएको हो ।

अध्यक्ष कार्कीले आफ्नो गाउँको विद्यालयमा सहयोग जुटाउन पाउँदा खुशी लागेको भन्दै आगामी दिनमा पनि विद्यार्थी आकर्षण गर्ने खालका सहयोग जुटाउने बताएका छन् ।

गाउँपालिका उपाध्यक्ष गौरव राई र प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र यादवले शिक्ष क्षेत्रमा विभिन्न किसिमका सहयोगले शिक्षक तथा विद्यार्थी उत्साही हुने बताए ।