माओवादी केन्द्र गण्डकीको संसदीय दल नेतामा चुमान चयन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन भएका छन् ।

सो दलको आइतबार साँझ बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नं १ ९२० बाट प्रत्यक्ष निर्वाचित चुमानलाई सर्वसम्मत दल नेता चयन गरेको माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले जानकारी दिएका छन् ।
उनका अनुसार ज्येष्ठ सदस्य कृष्ण धितालको अध्यक्षतामा दलको बैठक बसेका थिए ।

संसदीय दलको नेता बाहेकका अन्य पदाधिकारी पछि चयन गरिने माओवादीले बताएको छ । साठी सदस्सीय
प्रदेशसभामा माओवादीका प्रत्यक्ष निर्वाचित ५ र समानुपातिकका ३ गरी आठ सदस्य छन् ।

माओवादी केन्द्र गण्डकी प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहितको संयुक्त बैठकले प्रदेश संसदीय दलको नेतामा चुमानलाई बनाउने र संसदीय दल बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको थियो । पार्टीको बैठकपछि संसदीय दलको बैठक बसेर दल नेता चुनेको हो ।

दलको नेतामा चयन भएका चुमान यसअघि गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री भएर ३ वर्ष काम गरेका थिए । उहाँ सो पार्टीका पोलिटब्युरो सदस्य समेत रहेका छन् ।

संसदीय दलको बैठकमा माओवादी केन्द्रका केन्द्रीय सचिव एवं प्रतिनिधिसभामा सो दलका प्रमुख सचेतक हितराज पाण्डेले आगामी संसद् बैठकमा जिम्मेवार भएर जनतामा समस्यालाई उठाउन निर्देशन दिएका थिए ।