सरकारलाई समर्थन गर्न माधव नेपाललाई प्रधानमन्त्रीको आग्रह

काठमाडाैँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएकाे छ। प्रधानमन्त्री प्रचण्डले अध्यक्ष नेपालसँग विश्वासको मत मागेको बताइएको छ।

उनीहरूबीच सरकारमा सहभागी हुने विषयमा पनि छलफल भएको बताइएको छ। एकीकृत समाजवादीले भने सरकारमा सहभागी हुने नहुने निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिएको छ।

बुधबारकै एक कार्यक्रममा अध्यक्ष नेपालले विश्वासको मत दिने नदिनेबारे निर्णय २६ गते गर्ने बताएका थिए। प्रधानमन्त्री प्रचण्डले २६ गते संसदमा विश्वासको मत लिँदैछन्।