कञ्चनपुरको महेन्द्रनगरस्थित क्रिकेट मैदान निर्माण अलपत्र

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा क्रिकेट मैदान निर्माणको काम अलपत्र भएको छ । दुई वर्षअघि मैदान निर्माणको काम अघि बढाइए पनि अहिले उक्त मैदान अलपत्र अवस्थामा छ ।

अघिल्लो आर्थिक वर्ष ०७६ र ७७ मा राष्ट्रिय खेलकुद परिषद्ले रकम विनियोजन गरी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समिति धनगढीमार्फत ठेक्का आह्वान गरेर क्रिकेट मैदान निर्माण थाले पनि अहिले बजेटलगायतका कारणले निर्माण अघि बढेको छैन ।

क्षेत्रीय खेलकुद विकास समितिका इञ्जिनीयर केशवप्रसाद जोशीले ठेक्कामार्फत क्रिकेट मैदानमा पहिलो चरणमा माटो भरान र ‘चेञ्जिङ रुम’ मा रु ३९ लाख खर्च भएको बताए । “त्यसपछि सोही आवमा ३३ लाखको माटो भरान उपभोक्ता समितिमार्फत पनि भयो”, इञ्जिनीयर जोशीले भने, “कभर्डहलमा मास्टर प्लानभन्दा बाहिर गएर धेरै संरचना बनेका कारण क्रिकेट मैदान बनाउनमा ठाउँको पहि समस्या रह्यो ।”

दुई वर्षअघि १ करोड रकम क्रिकेट मैदानका लागि आए पनि त्यहाँ माटो भरानबाहेक अरु काम अघि बढ्न सकेको छैन । क्रिकेट मैदान निर्माणस्थलमै जिल्ला खेलकुद विकास समितिले माछा पोखरी निर्माणका लागि जग्गा ठेक्कामा दिँदा अहिले क्रिकेटमा आएको रकम पोखरी पुर्नमा समेत खर्च भएको देखिन्छ ।

“क्रिकेट मैदान बनाउने ठाउँमा माछापोखरी विगतमा बनेकाले पोखरी भरानमै अनावश्यक खर्च भयो”, क्रिकेटका एक खेलाडीले भने, “माटो भरानमा लाखौँ खर्च भए पनि यहाँ निर्माण अघि बढाउन सरोकारवाला निकायको चासो देखिँदैन ।” उहाँले विगत लामो समयदेखि राष्ट्रिय टोलीमा कञ्चनपुरका खेलाडी पर्दै आए पनि गृह जिल्लामा क्रिकेट मैदान बनाउने विषयमा भने यहाँ बेवास्ता हुँदै आएको दुखेसो पोखे ।

अध्यक्ष चन्दले गत वर्ष पनि ७५ लाख निर्माणका लागि बजेट आए पनि काम हुन नसक्दा रकम फ्रिज भएको बताए । “चालु आवमा पनि ५० लाख रकम क्रिकेट मैदानका लागि विनियोजन भएको भन्ने छ”, उनले भने, “त्यो रकम आएपछि निर्माण प्रक्रिया अघि बढाउने छौँ ।” उनले माथिल्लो निकायबाट पुग्ने गरी बजेट विनियोजन गरेर निर्माणमा सहयोग गर्न आग्रह समेत गरे ।

सुदूरपश्चिम प्रदेश सरकारले यहाँ बहुउद्देश्यीय कभर्डहल बनाउन चालु आर्थिक वर्षमा ८ करोड रकम विनियोजन गरेको खेलकुद विकास समितिले जानकारी दिएको छ । “बहुउद्देश्यीय कभर्डहलको कूल लागत अनुमान रु २७ करोडको हो”, भट्टले भने ।