नेवाः पत्रकार दबूको सदस्यमा अनुप प्रधान निर्वाचित

काठमाडौँ । नेवाः पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूको सदस्यमा फोटो पत्रकार अनुप प्रधान निर्वाचित भएका छन् ।

नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार ललितपुरमा सम्पन्न चौथों महाधिवेशन तथा दसौं वार्षिक साधारणसभाबाट प्रधान लगायत कार्यसमिति सदस्यमा रत्नकृष्ण श्रेष्ठ (उपत्यकाबाट), पूर्णभक्त दुवाव, दानदास श्रेष्ठ, अनिता डङ्गोल, मीरा बज्राचार्य र उत्तमकुमार श्रेष्ठ (गण्डकी प्रदेश) निर्वाचित भएका हुन् ।

त्यसैगरी नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्षमा नृपेन्द्रलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुनिल महर्जन, खुला उपाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ, महिला उपाध्यक्षमा रचना श्रेष्ठ, उपत्यका क्षेत्रबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा सन्दीपकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै महासचिवमा कृष्णकाजी (केके) मानन्धर, सचिवमा राजु नापित, कोषाध्यक्षमा बाबुकाजी साँछे श्रेष्ठ, खुला सहसचिवमा प्रजित शाक्य, महिला सहसचिवमा सुनिता महर्जन, उपत्यका क्षेत्रबाट प्रतिनिधित्व गर्ने सहसचिवमा विजयराम कर्माचार्य, सहकोषाध्यक्षमा तेजनारायण महर्जन निर्विरोध निर्वाचित भएको छ ।
लेखासमिति संयोजकमा विगेन तुलाधर निर्विरोध निर्वाचित भएका छन् भने लेखासमिति सदस्यमा कसैको पनि उम्मेदवारी नपरेको निर्वाचन कमिटी संयोजक किरण शाक्यले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै उपप्रधान तथा भौतिक तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहितको समृद्धि हासिस गर्न सरकार लागिपर्ने बताए । उनले जातीय विविधताको सम्बोधन, सामाजिक न्यायको लागि पत्रकारहरु संवेदनशील हुनुपर्नेमा जोड दिदै समावेशी पत्रकारिताको विकास र मातृभाषाको पत्रकारितालाई विकास गर्नुपर्ने विषयमा राज्यको ध्यान आकृष्ट भएको बताए ।

कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष पवित्र वज्राचार्य, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष गजुर्धन राई, दबूका केन्द्रीय अध्यक्ष सुरजवीर बज्राचार्यले स्वर्गीय पत्रकार सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासंघका संस्थापक सभापतिको रूपमा मान्यता दिई उनलाई न्याय दिनुपर्ने बताए । श्रेष्ठले २००८ सालमै पत्रकार संघ स्थापना गरी पत्रकारहरूलाई संगठीत गर्ने काम गरेका थिए । हाल पत्रकार महासंघका संस्थापक अध्यक्षका रूपमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई मान्दै आइएको छ ।

कार्यक्रममा उपप्रधानमन्त्री श्रेष्ठले दबूबाट स्थापित विभिन्न पुरस्कार पनि प्रदान गरेका थिए भने सम्बन्धित पुरस्कार दाताले नगद पुरस्कार प्रदान गरेका थिए । महाधिवेशनका अवसरमा छजना पत्रकार पुरस्कृत भएका थिए । पुरस्कृत हुनेमा अग्रज पत्रकार नरेशवीर शाक्य, नेपाल समाचारपत्रमा कार्यरत सरस्वती कर्माचार्य, नेपाः च्यानलमा कार्यरत अनुशा बज्राचार्य, भक्तपुरका फोटोपत्रकार सुरेश ख्वाखः श्रेष्ठ, हेटौँडाका पत्रकार सुरेश श्रेष्ठ र काभ्रेका पत्रकार सूर्यप्रसाद लाकोेजु रहेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले दबूको स्मारिका ‘लुमन्ति पौ’ पनि विमोचन गरेका थिए । अग्रज पत्रकार नरेशवीर शाक्यले ज्ञानदेवी–मणि पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार र नेपाल समाचारपत्रमा कार्यरत सरस्वती कर्माचार्यले ज्ञानज्योति–लक्ष्मीप्रभा पुरस्कारबाट पुरस्कृत भएका छन् । यी दुई पुरस्कारको राशि नगद २० हजार रहेको नेवाः पत्रकार दबुका निवर्तमान अध्यक्ष सुरजवीर बज्राचार्यले बताए ।

त्यस्तै नेपाः च्यानलमा कार्यरत अनुशा बज्राचार्यले नगद १२ हजार राशिको भिक्षुकुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार, भक्तपुरका फोटोपत्रकार सुरेश ख्वाखः श्रेष्ठले बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार, हेटौँडाका पत्रकार सुरेश श्रेष्ठले श्रीराम स्मृति पत्रकारिता पुरस्कार र काभ्रेका पत्रकार सूर्यप्रसाद लाकोेजुले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार प्राप्त गरेका छन् ।