कोभिड–१९ का कारण बन्द भएको साप्तहिक शुक्रबारे हाट आजबाट पुन सञ्चालनमा

काठमाडौँ । रावाबेंसी गाउँपालिकाको केन्द्र कुभिण्डे हरमटारमा कोभिड–१९ का कारण बन्द भएको साप्तहिक शुक्रबारे हाट आजबाट पुन सञ्चालनमा आएको छ ।

सञ्चालनमा आएको पहिलो दिन क्रेता एवं विक्रेताहरुको उल्लेखनीय सहभागिता रहेको थियो । स्थानीयस्तरमा उत्पादन भएका मुला, साग, बन्दा, अदुवा, लसुन, उखु, भुइँकटहर, सखरखण्ड, सुन्तला, केरा, दाललगायतका कृषि उपज लिएर कृषकहरु विक्री गर्न बजार आएका थिए ।

हाटमा खाजा नास्ताको लागि होटल एवं लत्ता कपडा पसल पनि सञ्चालन गरेको र आफूले उत्पादन गरेका कृषि उपजहरु घर नजिकै विक्री गर्न पाउँदा कृषक हर्षित भएको बताएका छन् ।

गाउँपालिकाभित्र उत्पादन भएका कृषि उपजहरुको बजारीकरणका लागि सरोकारवाला सबैसँग छलफल गरेर पुनः साप्ताहिक हाट सञ्चालनमा ल्याइएको ररावाबेंसीमा धेरै कृषि उपजहरु उत्पादन हुन्छन् तर बजारीकरणको समस्या छ । त्यसैले कृषकको सहजताको लागि हाट पुनः सञ्चालनमा ल्याइएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

कृषि पेसाबाट कृषकलाई आत्मनिर्भर बनाउँदै पालिकाभित्र हुने आयतलाई कम गर्ने योजनामा गाउँपालिका रहेको अध्यक्ष श्रेष्ठले बताए । जसअन्तर्गत तोरी उत्पादनका लागि कृषकलाई पालिकाले बीउ उपलब्ध गराएको छ ।

आगामी दिनमा गुन्द्रक, भुजा, अचारलगायत पालिकामा उत्पादन गरेर बाहिर निर्यात गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष श्रेष्ठले बताएका छन् ।