नेपाल टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी अल स्टार फाइनलमा

काठमाडौँ । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनीले जनकपुरलाई ६ रनले हराएर लुम्बिनी अल स्टार पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले पहिला व्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन बनाएका थिए । एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरको पारी १ सय ३७ रनमा समेटिएको थियो । यस क्रममा जनकपुरले सात विकेट गुमाएका थिए ।

लुम्बिीनीका लागि ब्याटिङ गर्ने क्रममा इशान पाण्डेले सर्वाधिक ३८ रन बनाए र अनिल शाहले २४, विपुल शर्माले २०, श्याड्ली भानले १७ , लाहिरु मिलान्थाले १६ तथा कप्तान दिपेन्द्रसिंह ऐरीले १० रन बनाएका थिए । बलिङतर्फ जनकपुरका जितेन्द्र मुखिया, असन प्रियरन्जन र सोमपाल कार्मीले २÷२ तथा पवन सर्राफ र ट्राभोन ग्रिफिथले १÷१ विकेट लिएका थिए ।

यसैगरी १ सय ४४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुरका लागि समिउल्लाह शिनवरीले सर्वाधिक ४५ रनको योगदान दिएका थिए । यस्तै पवन शर्राफले अविजित ३०, शारफुद्धिन असरफले २४, राजेश पुलामीले १३ र ट्राभोन ग्रिफिथले १० रन बनाएका थिए ।

बलिङतर्फ लुम्बिनीका दिपेन्द्रसिंह ऐरी, विपुल शर्मा र सागर ढकालले २÷२ तथा श्याड्ली भानले १ विकेट लिएका थिए । प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले रु ३० लाख पुरस्कार प्राप्त गर्ने बताएका छन् ।