सार्कलाई अघि बढाउन प्रयत्न भइरहेको छ : सचिव पौडेल

काठमाडौँ । परराष्ट्र मन्त्रालयले संसदीय समितिलाई दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कलाई अघि बढाउने प्रयत्न भइरहेको जानकारी दिएका छन् ।

राष्ट्रियसभा, राष्ट्रिय सरोकार समितिको आजको बैठकमा समिति सदस्यले सार्कका बारेमा राखेको जिज्ञासामा परराष्ट्रमन्त्रा- लयका सचिव भरतराज पौडेलले नतिजा नदेखिए पनि सार्कलाई अघि बढाउन प्रयास भइरहेको जानकारी दिएका छन् ।

उनले बहुपक्षीय र क्षेत्रीय केही पक्षमध्ये सार्क स्थापनाको बडापत्रको परिभाषा तयार गर्दैखेरि आधारभूत सिद्धान्तका रूपमा कुनै पनि विषयमा सबैको सहमति नभएसम्म अघि बढ्न सक्दैन भन्ने प्रावधानले प्रभाव पारेको बताएका छन् ।

नेपाल अध्यक्ष राष्ट्र भए पनि ८ वटा सदस्य राष्ट्रमध्ये एउटा मात्र भएको उल्लेख गर्दै उनले भने, नतिजा नदेखिएकाले त्यो जिज्ञासा उठ्नु स्वाभाविक रहेको छ ।

सन् १९८४ मा स्थापना भएको सार्कका सदस्य राष्ट्रमा नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, माल्दिभ्स्, भूटान, श्रीलङ्का र कान्छो सदस्यका रूपमा अफगानिस्तान रहेको बताए ।

यसैगरी दक्षिण एशियाली क्षेत्रमा गरिबी निवारण गर्ने प्रमुख उद्देश्यका साथ स्थापना भएको सार्क पछिल्ला वर्षमा प्रभावकारी हुन नसकेको गुनासो उठ्दै आएको जानकारी दिएका छन् ।