प्रधानमन्त्रीबाट ग्लोबल आईएमई बैङ्कको कारोबार शुभारम्भ

काठमाडौँ । ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमान्डुको एकीकृत कारोबार सोमबारदेखि सुरु भएको छ । मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेसँगे प्रधानमन्त्री पुष्पकमल दाहालद्धारा सोमबार बिहान एक कार्यक्रमबीच कारोबारको शुभारम्भ गरेको हो ।

दुवै बैङ्कको सम्पूर्ण सम्पत्ति तथा दायित्व गाभिएपछि बन्ने संस्थामा सर्ने गरी दुवै संस्थाबाट सञ्चालन हुँदै आएका सम्पूर्ण वित्तीय कारोबार एकीकृत कारोबार सोमबारदेखि ‘ग्लोबल आईएमई बैङ्क लिमिटेड’का नामबाट सुरु भएको हो ।

प्रधानमन्त्री दाहालले अर्थतन्त्रको सबलीकरणलाई प्राथमिकतामा राखिएको बताउँदै सँगै निजी क्षेत्रलाई पनि साथमा लैजाने बताए । सकारले निजी क्षेत्रका समस्यालाई पनि सम्बोधन गरी अर्थतन्त्रका समस्या समाधानका लागि समन्वय र सुझबुझ् गर्ने बताए । ‘‘अर्थतन्त्रको सबलीकरण प्रमुख रुपमा अघि सारिएको छ । सबैको साथ लिएर चुनौती समाधान गर्ने हो,’ उनले भने, ‘‘सबैको सहयोग भयो भने सबै समस्या समाधान गर्न सकिन्छ ।’

साथै उनले बैंकहरू मर्जरमा जाँदा देशले बलियो गतिशील बैंकिङ क्षेत्र पाउने बताउँदै जनताले पाउने सेवामा भने ह्रास आउन नहुने बताए ।

ग्लोबल आईएमई बैङ्कले बैङ्क अफ काठमान्डुलाई मर्ज गरेपछि मुलुककै ठूलो बैङ्क बनेको बैङ्कले जनाएको छ । मर्जरपश्चात् बैङ्कको कुल पुँजी ५७ अर्ब रुपियाँ चुक्ता पुँजी ३५.७७ अर्ब रुपियाँ, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्ब रुपियाँभन्दा बढी भएको बैङ्कले जनाएको छ ।