भलिबल प्रतियोगितामा नेपाल पुलिसको लगातार दोस्रो जित

काठमाडौँ । राजधानीमा जारी सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत महिलातर्फको खेलमा विभागीय टोली नेपाल पुलिस क्लब एभरेष्ट भलिबल क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

आज भएको खेलमा पुलिसले एभरेष्ट भलिबल क्लबलाई ३–० को सेटमा हराउँदै प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको हो ।यसअघि आइतबार भएको पहिलो खेलमा पुलिसले नयाँबजार युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेका थिए ।

आजको खेलमा पुलिसले एभरेष्टलाई पहिलो सेट २५–१४ ले हरायो भने खेलको दोस्रो सेट २५–९ ले जित्एको छ । यस जितसँगै समूह ‘ए’ मा रहेको पुलिसले दुई खेलमा ६ अङ्क जोडेका छन् ।

त्यसैगरी आजै भएको महिलातर्फको अर्को खेलमा न्यू डायमण्ड एकेडेमीले नयाँबजार युवा क्लबलाई ३–० को सोझो सेटमा हराउँदै विजयी सुरुआत गरेको छ । न्यु डायमण्डले नयाँबजारमाथि पहिलो सेट २५–२ ले जित्यो भने दोस्रो सेट २५–८ तथा तेस्रो सेट २५–६ ले हराएका छन् ।

जितसँगै समूह ‘ए’ को न्यू डायमण्डले तीन अङ्क जोडेका छन् । च्याम्पियनसिपमा महिलातर्फ आठ टोली सहभागी छन् भने पुरुषतर्फ १४ टोलीले सहभागिता जानकारी दिएका छन् ।

च्याम्पियनसिपको महिला र पुरुषतर्फको विजेता टोलीले रु चार लाख पाउनेछ भने उपविजेताले २ लाख प्राप्त गर्ने भएका छन्। त्यस्तै तेस्रो हुने टोलीले १ लाख पाउने बताएका छन् ।