स्रोत नखुलेको १६ लाखसहित १ भारतीय नागरिक पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय, धनुषाले स्रोत नखुलेको १६ लाख नगद सहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मधुवनी जिल्ला ग्रामपञ्चायत दुहबी महिनाथपुर बस्ने ४२ वर्षीय राजेशकुमार साह रहेका छन् । सो रकमसहित मङ्गलबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले बताएका छन् ।

जिल्लाको विदेह नगरपालिका–२ स्थित सडकमा खटिएको प्रहरी टोलीले जाँचका क्रममा बिआर ३२ एसी ७६७९ नम्बरको स्कुटरमा सवार भई भारतबाट नेपालतर्फ आउँदै गरेका साहमाथि शङ्का लागि सवारी जाँच गर्दा डिक्कीभित्र कालो प्लाष्टिकमा स्रोत नखुलेको १६ लाख रुपियाँ बरामद भएको उनले जानकारी दिएका छन् ।

निजको साथबाट १ हजार दरका ७४८ वटा, ५ सय दरका ५ सय वटा, सयको २६० वटा र ५० दरका ८० वटा बरामद भएको बताएका छन् । पक्राउ परेका साहलाई र स्कुटर आवश्यक कारबाहीका लागि मङ्गलबार नै भन्सार कार्यालय जनकपुर पठाइएको प्रहरी प्रवक्ता क्षेत्रीले जानकारी दिएका छन् ।