लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता गिरी नियुक्त

काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् । एमालेसहित ७ राजनीतिक दल र २ स्वतन्त्र सांसदसहित ५८ जनाको समर्थनमा गिरी मुख्यमन्त्री बनेका छन् ।

सरकार गठन गर्नका लागि सत्ता गठबन्धनले बुधबार दिउँसो प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको थियो । एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र २ स्वतन्त्र सांसदसहित ५८ जनाको हस्ताक्षरमा सरकार गठनको लागि दाबी पेश भएको थियो ।

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा, लोसपा र जनमतका ३/३ सिट छन् । नागरिक उन्मुक्तिसँग ४ सिट र स्वतन्त्र २ जना सांसद रहेका छन् ।

८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका ३ र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १/१ सदस्य रहेका छन् । गिरीले रुपन्देही क्षेत्र नम्बर २ ९२० बाट प्रदेशसभामा विजयी भएका थिए । उनी यसअघि लुम्बिनी प्रदेशको वन तथा वातावरण र उद्योगमन्त्रीसमेत बनेका थिए ।

शपथ कार्यक्रम भने पुस २८ गते बिहीबार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा दिउँसो १ बजे हुने भएको जानकारी दिएका छन् ।