सत्ता साझेदार दलहरुको बैठक बस्दै

काठमाडौँ । मन्त्रालय भागवण्डामा सहमति जुटाउन सत्ता साझेदार दलहरुको बैठक आज बस्दै छ ।

प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको तयारी गरेको छ । विश्वासको मत लिएपछि मात्रै सरकारलाई पूर्णता दिन सत्ता साझेदार दलहरु सहमत भएका थिए ।

प्रधानमन्त्रीले विश्वासको मत लिएसँगै मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच हिजो छलफल पनि भएको थियो ।

दुई नेताबीच मन्त्रिपरिषद् विस्तारको विषयमा केही गृहकार्य भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आज सत्ता साझेदार दलहरुबीच थप छलफल हुनेछ ।

सत्ता साझेदार दलहरुबीच मन्त्रालयको संख्या र विभाग बाँडफाँटको लागि अनौपचारिक छलफल पनि भइरहेको छ ।

संविधानको सीमाअनुसार प्रधानमन्त्रीसहित बढीमा २५ सदस्यीय मन्त्रिपरिषद हुने भएकाले साझेदार दलहरुको आकारअनुसार संख्या र विभागीय मन्त्रालय बाँडफाँट गर्ने तयारी छ ।