पाइलट श्रीमान्‌को सपना पूरा गर्न पाइलट नै भएकी थिइन् अञ्जु

काठमाडौँ । २४ वर्षअघि विराटनगर–५ चाँदनी चोककी अञ्जु खतिवडाको काठमाडौं बत्तिसपुतली घर भएका दीपक पोखरेलसँग विवाह हुँदा सायदै कसैले सोचेको थियो . यो दम्पतीको जिन्दगीमा हवाई दुर्घटनाको दुर्भाग्यपूर्ण शृंखला जोडिएको छ ।

अञ्जुको विवाह को–पाइलट पोखरेलसँग भएको थियो, उनी नेपाली सेनाको हेलिकोप्टर उडाउँथे । बिहेको केही वर्षपछि यती एयरलाइन्सको पाइलट बनेका दीपकको सन् २००६ मा जुम्लामा जहाज दुर्घटनामा मृत्यु भयो । उनको निधनको १७ वर्षपछि आइतबार पोखरामा भएको यती एयरलाइन्सकै जहाज दुर्घटनामा को–पाइलट अञ्जुले ज्यान गुमाइन् । अञ्जुका भानिज–काका गोपाल रेग्मीले आइतबारको घटनाले सिंगो परिवार शोकमा डुबेको बताए । श्रीमान्को मृत्यु हुँदा अञ्जु उड्डयन पेसामा जोडिएकी पनि थिइनन् ।

ज्वाइँको निधनपछि अञ्जुलाई बुबा गोविन्दले बीएन पढाउन भारत पठाउने तयारी गरेका थिए तर उनले मानिनन् । पति वियोगको शोक खेपेर उनी अमेरिकामा पाइलट कोर्स पढ्न गइन् । अञ्जुका नजिकका नातेदारका अनुसार अञ्जुले पाइलट पढ्न खोज्दा धेरैले अनौठो मानेका थिए । छोरीको अड्डीपछि गोविन्दले ६ वर्षकी नातिनी आफैंसँग राखेर अमेरिका पढ्न पठाएका थिए । पाइलट कोर्स सकेर फर्केपछि अञ्जु पतिको विगत जोडिएको यती एयरलाइन्समा जोडिएकी थिइन् ।

परिवारका सदस्यहरूका अनुसार विराटनगरको सेन्ट जोसेफ स्कुलबाट एसएलसी गरेकी अञ्जुले पाइलट बनेपछि काठमाडौं, भद्रपुर, विराटनगर, धनगढीलगायतका विमानस्थलमा करिब सय घण्टा उडान भरेकी थिइन् । आइतबारको काठमाडौं–पोखराको उडान उनको को–पाइलटका रूपमा अन्तिम उडान थियो । यो उडानपछि उनी पाइलट हुनेवाला थिइन् । अञ्जुका माइतीका छिमेकी एवं वडाध्यक्ष सन्तोष न्यौपानेले भने, ‘उनको सपना अधुरै रह्यो । कान्तिपुर