कपिलवस्तुमा ४ सय बढी बालबालिका विद्यालय बाहिरै

काठमाडौँ । हरेक वर्ष शैक्षिक सत्र सुरु भए देखि वैशाख १५ सम्म ‘भर्ना अभियान’ सञ्चालन गर्दै आए पनि कपिलवस्तुको मायादेवी गाउँपालिकामा चार सय बढी बालबालिका विद्यालय बाहिरै रहेका छन् । जिल्लाको मायादेवी गाउँपालिकामा ४ सय ३९ जना बालबालिकाहरू अझै विद्यालय बाहिरै रहेको एक तथ्याङ्कले देखाएको छ ।

गाउँपालिकाको प्रत्येक वडामा प्रगतिशील युवा सञ्जालले तथ्याङ्क सङ्कलन गर्दा पालिका भित्र विद्यालय नजाने ५ देखि १८ वर्ष उमेर समूहका बालबालिका चार सय ३९ जना रहेका छन् । जसमा छात्रा २ सय २८ र छात्र २ सय ११ रहेका छन् ।

मायादेवी गाउँपालिकामा आयोजना गरिएको विद्यालय नजाने बालबालिकाहरूको तथ्याङ्क प्रस्तुतीकरण तथा सरोकारवाला निकायहरू सँग बाल संरक्षण सम्बन्धी बहस छलफल कार्यक्रममा सो तथ्याङ्क प्रस्तुत गरिएको हो । प्रस्तुत गरिएको तथ्याङ्कमा ५ देखि १० वर्षका ९२, १० देखि १५ वर्षका २ सय ६ र १५ देखि २० वर्ष सम्मका १ सय ४१ जना रहेको प्रगतिशील युवा सञ्जालकी अध्यक्ष सुनिता कोहारले बताउनुभयो । सो मध्ये २ सय ४३ जना घरायसी समस्याका कारण विद्यालय छाडेका, १ सय ३४ जनाको इच्छा नभएर र ३ जना शारीरिक अपाङ्गताका कारण विद्यालय नगएका उहाँको  भनाई छ ।

तथ्याङ्क अनुसार मायादेवी गाउँपालिका वडा नं। १ मा ५४, वडा नं। २ मा ११५, वडा नं। ३ मा १६, वडा नं। ४ मा ४६, वडा नं। ५ मा १३०, वडा नंं ६ मा ३४, वडा नं। ७ मा ५७ र वडा नं। ८ मा ३४ जना बालबालिका विद्यालय बाहिर रहेका छन् ।

विद्यालय जाने उमेरका बालबालिकालाई आउने शैक्षिक सत्र देखि विद्यालय भर्ना गराउने र १५ देखि २० वर्ष उमेरकालाई विभिन्न किसिमका सिप विकास तालिम दिइएर स्वरोजगार बनाइने गाउँपालिकाका अध्यक्ष वलिउद्धिन खाँले बताउनुभयो । विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालयमा भर्ना गराउन पालिकाले विशेष योजना बनाएर अगाडी बढ्ने उहाँले बताउनुभयो । त्यति बालबालिका विद्यालय बाहिर रहनु चुनौतीको विषय रहेको प्रमुख प्रशासकीय अधिकृत परमेश्वर यादवले बताउनुभयो ।

कार्यक्रम प्रगतिशील युवा सञ्जालको आयोजना, मायादेवी गाउँपालिकाको समन्वय र सन साइन सामाजिक विकास संस्था, युनाईटेड मिसन टु नेपालको सहयोगमा भएको हो । कार्यक्रममा विभिन्न विद्यालयका प्रअ, शिक्षक, अभिभावक, विद्यार्थी, विभिन्न वडाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । गोरखापत्र