विद्यालयबाट घर फर्किएकी १ विद्यार्थीको शव फेला

काठमाडौँ । जिल्लाको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान काभ्रे घर भएकी १७ वर्षीया रञ्जिता दाहाल घर नजिकै मृत अवस्थामा फेला परेकी छन् ।

महेन्द्रोदय माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत रञ्जिता आइतबार विद्यालय गएर घर नफर्किएपछि खोजी गर्दा सोमबार बिहान घर नजिकै शङ्कास्पद अवस्थामा उनको शव भेटिएको बताएका छन् ।

घर फर्कने क्रममा सम्पर्कविहीन बनेकी बालिकाको शव घरभन्दा करिब २ सय मिटर टाढा खन्युको फेदमा पासो चुँडिएर खसेको जस्तो अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएका छन् ।

स्थानीयले शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । बालिकाको ओठ, आँखा, घाँटीमा चोट देखिएको, सलको १ टुक्रा घाँटीमा र १ टुक्रा रुखको हाँगामा रहेकाले घटना शङ्कास्पद देखिएको महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताएका छन् ।

विद्यालयमा आयोजना गरिएको नगरस्तरीय भलिबल, फुटबल र नृत्य प्रतियोगिताको तयारीका लागि रञ्जिता गाउँकै साथीसँग विद्यालय पुगेकी थिइन् । प्रतियोगिताको तयारी सकेपछि उनी साथीसँगै दिउँसो साढे ३ बजेतिर घर फर्केकी थिइन् । उनी बाटैमा पर्ने साथीको घरमा रोटी खान आग्रह गर्दा हतार छ भन्दै रोटी बोकेर हिँडेकी बालिका बेपत्ता भएकी थिइन् ।

शवको पोस्टमार्टमपछि बालिकालाई ‘हत्या गरेर झुण्ड्याइएको जस्तो बनाउन खोजिएको वा आफैँ झुन्डिएको’ विषय खुल्ने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी मञ्जिल मुकारुङले बताए ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।