प्रतिनिधि सभामुखका लागि आज दर्ता हुँदै

काठमाडौँ । प्रतिनिधि सभामुखका लागि आज दर्ता हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्ने बताएका छन् ।

मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुने भएको छ । मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् ।

सभामुखको निर्वाचन भने बिहीबार हुने प्रतिनिधि सभा बैठकमा हुने भएको छ । प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

संवैधानिक व्यवस्था अनुसार संघीय संसद बैठक सुरु भएको १५ दिनभित्र प्रतिनिधि सभा सदस्यमध्येबाट सभामुख चयन गर्नुपर्ने बताएका छन् । उक्त समय लागेपछि प्रतिनिधि सभामा सभामुख चयन गर्ने तयारी गरेका हुन् ।

सत्ता गठबन्धनमा सभामुख नेकपा एमालेको भागमा परेको छ । गठबन्धनका तर्फबाट एमालेबाट निर्वाचित सांसदले उम्मेदवारी दर्ता गराउनेछन् । एमालेले उम्मेदवारको टुंगो लगाइसकेको छैन ।

सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षी दल दाबी गरिरहेको नेपाली कांग्रेस भने सभामुखमा उम्मेदवारी दिने वा नदिने भन्ने निर्णय अझै गरिसकेको छैन् । आज बिहान ९ बजे सभामुखको उम्मेदवारीबारे छलफल गर्न कांग्रेसको पदाधिकारी बैकठक बस्दै छन् ।